२०८१ बैशाख ७ , शुक्रवार

ब्यवसायीक वातावरण निर्माण र लगानीको सुरक्षा मेरो प्राथमिकताः उपाध्यक्ष श्रेष्ठ

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल उद्योग वणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले महासंघको वरिष्ठ उपाध्यक्ष पदको लागि उम्मेवारी घोषणा गरेका छन्। महासंघको आगामी चैत २८ र २९ हुने साधारणसभा तथा निर्वाचनमा श्रेष्ठले वरिष्ठ उपाध्यक्ष पदको लागि उम्मेवारी दिने घोषणा गरेका हुन् ।

मुलुकभित्र व्यवसायिक वातावरण र लगानी सुरक्षाको वातावरण बनाउनको लागि आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्षको उम्मेदवारी दिने घोषणा गरेको उनले बताए । समय परिवर्तनशिल रहेकाले परिवर्तनशिल समयअनुकुल नीति निर्माण गर्नको लागि पनि आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ ।

संगठन विस्तार गर्न आफ्नो २० वर्षको अनुभवले सहज हुने श्रेष्ठको भनाइ छ । पछिल्लो समय विभिन्न जिल्लामा उद्योग वाणिज्य संघको भ्रमण गरेर आफ्नो उम्मेद्वारीको कुरा राखेको र निर्वाचनमा सबैले आफूलाई मतदान गरी निर्वाचित गराउने उनले विश्वास व्यक्त गरे ।

‘अहिले उद्योगी व्यवसायीहरुले खोजेको भनेको व्यवसायिक वातावरण र लगानीको सुरक्षा हो । यी दुईवटा कुरा नै खोजेको हो । यो भन्दा बढी कुरा खोजेको छैन,’ उनले भने, ‘अबको युग परिवर्तन हुँदैछ । डिजिटल युगमा आएका छौं । नयाँ परिवर्तनशिल अवस्थामा व्यापार नयाँ ढङ्गमा ल्याउनुपर्ने छ । चीन र भारतको व्यापारमा जुन गतिमा विकास भएको छ त्यो गतिमा नेपाल जान सकेन भने उत्पादक बन्न नसकेर बजार मात्रै बन्छौं ।’

श्रेष्ठले उद्योग वाणिज्य महासंघले साना व्यवसायीहरुका मुद्दालाई उठाएन भन्ने आरोप लाग्न नदिने प्रतिवद्धता जनाए । पहुँच भएर पनि प्रभाव पुग्न नसकेको भन्दै नयाँ नेतृत्व चयन पश्चात प्रभाव पुर्‍याउने गरी काम गर्ने उनको भनाइ छ ।