२०८१ बैशाख १३ , बिहिवार

ज्येष्ठ नागरिकलाई डिजिटल परिचयपत्र

सुनाखरी न्युज/ काठमाडौं । पाल्पामा पहिलो र पटक ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्तिलाई डिजिटल परिचयपत्र वितरण गरिएको छ। जिल्लाको रामपुर नगरपालिकाले डिजिटल परिचयपत्र वितरण सुरु गरेको हो।

 

नगरभित्र भएका ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई नगरपालिकाले दिने सुबिधा सहज रूपमा उपलब्ध गराउन डिजिटल परिचयपत्र वितरण गरिएको हो । यसअघि नाम, ठेगाना तथा अन्य बिबरण हातले लेखेको परिचयपत्र वितरण गरिएको थियो । सेवाग्राहीले दिएको विवरणका आधारमा डिजिटल परिचयपत्र वितरण हुनेछ। हातले बनाएका परिचयपत्र पानीमा भिज्ने, अक्षर र फोटो मेटिने, च्यातिने समस्या छ। यस्तो गुनासो धेरै आएपछि डिजिटल परिचयपत्र दिने व्यबस्था गरिएको नगरप्रमुख रमणबहादुर थापाले जानकारी दिए।

 

सो परिचयपत्रको अनलाइन प्रविष्टीकरण गरिने भएकाले परिचयपत्र बारकोडमार्फत हेर्न सकिने र हराएमा पनि सजिलै प्रदान गर्न सकिनेछ। अपाङ्गता भएका व्यक्तिका लागि वर्गअनुसारको रातो, नीलो, पहेँलो र सेतो परिचयपत्र र ज्येष्ठ नागरिकका लागि पूर्ण विवरणसहितको डिजिटल परिचयपत्रको व्यवस्था गरिएको छ।