२०८१ बैशाख ८ , शनिवार

अमेरिका, बेलायत र अष्ट्रेलियाबीच नयाँ सुरक्षा सम्झौता

सुनाखरी न्युज/ काठमाडौं ।
संयुक्त राज्य अमेरिका, बेलायत र अष्ट्रेलियाबीच नयाँ सुरक्षा सम्झौता भएको छ। संयुक्त पत्रकार सम्मेलन गर्दै  अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक र अष्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी एल्बानिजले त्रिपक्षीय नयाँ सम्झौताको जानकारी दिएका हुन्।

सहमति अनुसार अष्ट्रेलियाले अमेरिकाबाट आणविक क्षमतासहितका ३ वटा पनडुब्बी खरिद गर्ने भएको छ। डेढ वर्षअघि त्रिदेशीय सुरक्षा छाता ‘औकस’ बनाएका यी शक्तिशाली ३ देशबीच अमेरिकाको क्यालिफोर्नियामा भएको वार्ताबाट नयाँ सुरक्षा रणनीतिमा सहमति गरेका हुन्।

 

अष्ट्रेलियाले सन् २०३० भित्र अरु २ वटा पन्डुब्बी पनि खरिद गर्न सक्ने जनाइएको छ। अष्ट्रेलियाले खरिद गर्ने ति पनडुब्बी नयाँ पुस्ताको हतियार बाहक हुने र त्यसले क्षेत्रीय शक्ति सन्तुलन बनाएर राख्ने अमेरिकाले दावी गरेको छ।

इण्डो प्यासिफिक क्षेत्रमा चीनको बढ्दो प्रभाव रोक्नका लागि यी ३ देशबीच औकस गठबन्धन बनेको हो। अमेरिकी राष्ट्रपति जो बाइडेनले पनडुब्बीमा आणविक हतियार नहुने र आणविक मुक्त देश हुने अष्ट्रेलियाको प्रतिबद्धतालाई खतरामा नपार्ने दाबी गरे।

यस्तै बेलायतका प्रधानमन्त्री ऋषि सुनकले चीनले ‘विश्व व्यवस्थालाई चुनौती दिएको’ र यसलाई गम्भीर रूपमा लिनुपर्ने धारणा व्यक्त गरे। उनले विश्व अस्थिर भएको र सुरक्षा चुनौती बढेको भन्दै आफूहरूले सशस्त्र बलहरूमा लगानी बढाउन लागेको जानकारी गराए।

सुनकले पत्रकार सम्मेलनमा तीन देशको साझेदारीपछि विश्वले अहिलेसम्म देखेको सबैभन्दा उन्नत पनडुब्बीहरू मध्ये एक उपलब्ध गराउने र त्यसले ब्रिटिश जहाज निर्माण गर्ने काममा हजारौंलाई रोजगारी सिर्जना गर्ने बताए।
एजेन्सी