२०८१ बैशाख ८ , शनिवार

निवर्तमान राष्ट्रपतिको बिदाइ र नयाँ राष्ट्रपतिको स्वागतको तयारी गर्दै शितलनिवास

सुनाखरी न्युज/ काठमाडौं । नयाँ राष्ट्रपति रामचन्द्र पौडेलको स्वागत र कार्यकाल सकेर निवास फर्कने तयारीमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीको बिदाइको तयारीमा राष्ट्रपति कार्यालय शितलनिवास जुटेको छ।

 

सोमबार दिउँसो १ बजे नवनिर्वाचित राष्ट्रपति पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ खुवाउने कार्यक्रम छ। शपथलगत्तै राष्ट्रपति भण्डारीले नवनिर्वाचित राष्ट्रपति पौडेललाई राष्ट्रपतिको आसन सुम्पने कार्यक्रम छ। ष्ट्रपति भण्डारीको पाँच वर्षे कार्यकाल आइतबार सकिएको हो। २०७४ साल फागुन २९ गते उनी दोस्रो पटक राष्ट्रपति निर्वाचित भएकी थिइन्। उनी त्यसअघि पनि एक कार्यकाल राष्ट्रपति थिइन्। नेपालको संविधान घोषणापछि २०७२ कात्तिक ११ गते उनी पहिलो पटक राष्ट्रपति भएकी थिइन्।

 

नयाँ राष्ट्रपति पौडेलले पदभार सम्हालेपछि आजै दिउँसो भण्डारी निवास सर्ने कार्यक्रम छ। भण्डारी सर्नका लागि बूढानिलकण्ठस्थित घर मर्मतको काम भइरहेको छ। २०७२ सालको भूकम्पमा भण्डारीको घरमा क्षति पुगेको थियो। घर मर्मतको काम नसकेसम्म भण्डारी छोरीको घरमा सर्न सक्ने पनि बताइएको छ। नयाँ राष्ट्रपति पौडेल आज निजी निवासबाट शितल निवास सर्ने तयारीमा छन्। पौडेल बोहराटारस्थित निवासमा बस्दै आएका थिए।