२०८० चैत्र १५ , बिहिवार

राष्ट्र बैंकको तथ्याङ्क : मूल्यवृद्धि सात दशमलव ८८ प्रतिशत

सुनाखरी न्युज/ काठमाडौं । उपभोक्ता मूल्यवृद्धिले सरकारले राखेको बाञ्छित सीमा नाघेको छ । चालु आर्थिक वर्ष २०७९/८० मा सात प्रतिशतभन्दा बढी मूल्यवृद्धि हुन नदिने सरकारले लक्ष्य छ ।

 

तर नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार माघ मसान्तसम्ममा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति सात दशमलव ८८ प्रतिशत पुगेको देखिएको हो । गत आर्थिक वर्षको यही अवधिमा उपभोक्ता मुद्रास्फीति छ दशमलव २४ प्रतिशत थियो । राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्ममा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति छ दशमलव १९ प्रतिशत र गैर– खाद्य तथा सेवा समूहको मुद्रास्फीति नौ दशमलव २२ प्रतिशत छ ।

 

खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत रेष्टुराँ तथा होटल उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १५ दशमलव २४ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२ दशमलव ३९ प्रतिशत र सुर्तीजन्य पदार्थको १० दशमलव ८३ प्रतिशतले बढेको छ । त्यस्तै, मदिराजन्य पेयपदार्थमा आठ दशमलव ७८ प्रतिशत र मरमसलामा आठ दशमलव ०४ प्रतिशतले मूल्यवृद्धि देखिएको छ । गैर–खाद्य तथा सेवा समूहअन्तर्गत यातायात उपसमूहको मूल्य सूचकाङ्क १५ दशमलव ५८ प्रतिशत र स्वास्थ्य क्षेत्रको १० दशमलव ३९ प्रतिशतले बढेको छ ।
त्यसैगरी, घरायसी उपयोगका वस्तुको मूल्यवृद्धि नौ दशमलव ७८ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरुको नौ प्रतिशत र मनोरञ्जन तथा संस्कृतिको आठ दशमलव ८१ प्रतिशतले बढेको छ ।

 

राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्ममा काठमाडौँ उपत्यकामा आठ दशमलव ४७ प्रतिशत, तराईमा सात दशमलव ८२ प्रतिशत, पहाडमा सात दशमलव ३० प्रतिशत र हिमालमा सात दशमलव ९२ प्रतिशत मूल्यवृद्धि देखिएको छ । गतवर्ष माघ महिनामा यी क्षेत्रमा क्रमशः पाँच दशमलव ४७ प्रतिशत, छ दशमलव ५० प्रतिशत, छ दशमलव ७१ प्रतिशत र पाँच दशमलव ९७ प्रतिशत मुद्रास्फीति रहेको थियो । गत माघ महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति नौ दशमलव ६७ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १० दशमलव ३४ प्रतिशत रहेको थियो ।