२०८१ बैशाख १३ , बिहिवार

कक्षा पाँचसम्मको विद्यालय एउटा शिक्षिकाको भरमा

सुनाखरी न्युज/ काठमाडौं । जङ्गलको छेउमै छ टोकरी गाउँ । कुनै बेला निकै चहलपहल हुने यो गाउँ अहिले उराठ बनेको छ । त्यही गाउँ छेउमै ढुङ्गा, काठ र माटोले बनेको एउटा जीर्ण विद्यालय छ । त्यस विद्यालयमा थोरै विद्यार्थी भए पनि कक्षा पाँचसम्म पढाइ हुन्छ ।

 

कक्षा पाँचसम्मको विद्यालय अहिले एउटा शिक्षिकाको भर चलेको छ । विद्यालयका प्रधानाध्यापक सेवानिवृत्त भएपछि एक महिनादेखि गलकोट नगरपालिका–७ टोकरीगाउँस्थित देउराली प्राथमिक विद्यालयमा स्थानीय ज्योति थापाले पढाउँदै आएकी छन् । एक महिना अगाडि प्रधानाध्यापक केयरसिंह थापा सेवानिवृत्त भए। अर्का एक शिक्षिकाले विवाह गरिन् । त्यसपछि विद्यालयको सबै जिम्मेवारी शिक्षिका ज्योति थापाको काँधमा आयो । विद्यालयमा १९ विद्यार्थी छन् । कक्षा तीन र चार खाली छ । हाल कक्षा एक, दुई र पाँचमा पढाइ हुँन्छ । कक्षा एकमा १०, कक्षा दुईमा पाँच र कक्षा पाँचमा चार विद्यार्थी अध्ययनरत छन् ।

 

विद्यालयमा दुई जनाको स्थायी दरबन्दी रहे पनि अहिले रिक्त छ । हाल एक्लै अध्यापन गराउँदै आउनुभएकी ज्योति थापालाई केही महिना अगाडि घुम्टे युवा परिवार जापानले एक वर्षको तबल दिने गरी राखेको हो ।