२०८१ बैशाख १३ , बिहिवार

म्युजिक भिडिओ मार्फत पल शाहको ‘कम्ब्याक’

सुनाखरी न्युज/ काठमाडौं । अभिनेता पल शाह छिट्टै अभिनयमा फर्किने भएका छन्। कुनै समय नेपाली म्युजिक भिडीओ र चलचित्रमा एकछत्र राज गरेका शाह एक वर्षको जेल जीवनपछि अभिनयमा फर्कन लागेका हुन्।

 

नाबालिग बलात्कार अभियोगमा तनहुँ कारागारमा रहेका बेला चलचित्रको ‘स्क्रिप्ट’ पढिरहेको र कारागारमुक्त भएलगत्तै बिग बजेटको फिल्ममा देखिने चर्चाका बीच उनको कम्ब्याक भने म्युजिक भिडिओ मार्फत हुने भएको छ । घरमा परिवारसँग बसे पनि पल शाहलाई अभिनयको प्रस्ताव भने आइरहेको छ। तर, उनी सुरुमा म्युजिक भिडिओ मार्फत दर्शकमाझ देखिने तयारीमा रहेको बुझिन्छ ।

 

उनले मोडल तथा नायिका मल्लिका महतसँग म्युजिक भिडिओमा अभिनय गर्ने पक्का भएको स्रोतको भनाइ छ। मलिकासँग म्युजिक भिडिओ खेल्ने तयारीमा रहेका अभिनेता शाहले उक्त गीत आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गर्ने योजना बनाएका छन्। पललाई थुप्रै चलचित्रकर्मीले समेत अफर लिएर जाने गरेका छन् । यद्यपि, उनले कुनै चलचित्र साईन भने गरेका छैनन्।