२०८१ बैशाख २६ , बुधवार

क्रिकेट विश्वकप लिग-२ : नेपालले यूएईलाई दियो २४९ रनको लक्ष्य

सुनाखरी न्युज/ काठमाडौं ।क्रिकेट विश्वकप लिग-२ मा आइतबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले यूएईलाई २४९ रनको लक्ष्य दिएको छ । पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४९.२ ओभरमा अलआउट हुँदै २४८ रन बनाएको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७७ रन बनाए भने आरिफ शेख ४३ रन बनाएर आउट भए । त्यस्तै गुल्शन झाले ३७ रन बनाए । त्यस्तै भीम सार्की ३७ बलमा ४ चौका प्रहार गर्दै २९ रन बनाउन सफल भए । नेपालको तर्फबाट यसअघि ब्याटिङमा आएका कुशल भुर्तेलले १५ बलमा ८ रन बनाएर बाहिरिए भने अर्का ब्याटर कुशल मल्ल पनि १५ बलमा ९ रन बनाएर बाहिरिए । यूएईका तर्फबाट आयन अफजल खान‚ जहुर खान‚ रोहन मुस्तफा र जवर फरिदले २/२ विकेट लिए भने जुनैक सिद्दिक र आर्यन लाक्रा १/१ लिन सफल भए ।

आजको खेलमा टिम नेपालबाट दुई खेलाडी परिवर्तन गरिएको छ । करण केसी र ज्ञानेन्द्र मल्ल बाहिरिएपछि ललित राजवंशी र गुल्शन झाले भित्रिएका हुन् । प्लेइङ ११ मा रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, सोमपाल कामी, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, गुल्शन झा र सन्दीप लामिछाने रहेका छन् । गत बिहीबार आसिफ शेखको शतकमा नेपालले पपुवा न्यु गिनीलाई ५२ रनले पराजित गरेको थियो । २ सय ९८ रनको लक्ष्य लिएर आएको पपुवा न्यु गिनीलाई नेपालले ४७.१ ओभरमा २ सय ४५ अलआउट गरेको थियो ।उक्त विजयसँगै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायमको नजिक पुगेको छ । नेपालले ३३ खेलमा ३४ अंक बटुली पाँचौं स्थानमा छ ।

नेपालले बाँकी रहेका तीन खेलमध्ये एकमा विजय हात पारेमा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतालाई कायम राख्ने छ । सबै ३६ खेल खेलेको स्कटल्यान्ड ५०, ओमान ४४, नामिबिया ३९ र अमेरिका ३५ अंकसहित पहिलो चार स्थानमा छन् । सात राष्ट्र सहभागी लिग २ को शीर्ष तीन टोलीले सिधै विश्वकप छनोटमा स्थान पाउने छ भने शीर्ष ५ टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्ने छ । यूएई ३२ खेलमा ३१ अंकसहित छैटौं स्थानमा छ । नेपालले आइतबार यूएई, सोमबार पपुवा न्यु गिनी र यूएईसँग बिहीबार खेल्दै छ ।