२०८१ बैशाख १३ , बिहिवार

जान्नुहोस् के हो नेपाल टेलिकमले भन्दै आएको एउटै फाइबरबाट चार सुविधा

सुनाखरी न्युज/ काठमाडौं । नेपाल टेलिकमको फाइबर टु द होम अर्थात एफटीटीएच सेवाबाट एउटै प्याकमा एकै पटक चार ओटा सुविधा लिन सकिन्छ। यसबाट एकै पटक उच्च गतिको इन्टरनेटका साथै टेलिभिजन चलाउन, टेलिफोन सेवा प्रयोग गर्न र मोबाइल डाटा समेत चलाउन सकिन्छ।

एउटै तारबाट आवश्यकता अनुसार चार वटा सुविधा चलाउन सकिने भएकाले नेपाल टेलिकमले यसलाई थ्री प्लस वान (3 plus 1) अर्थात ‘अब एउटैमा तीन प्लस १’ सेवा नामाकरण गरेको छ।

 

टेलिफोन

एफटीटीएच सुविधा लिंदा पाइने विभिन्न प्याकेजमध्ये २५ एमबीपीएस वा सो भन्दा बढीको प्याकज लिने ग्राहकलाई निशुल्क टेलिफोन सुविधा समेत प्राप्त हुन्छ। प्रत्येक महिना न्यूनतम शुल्क वापतको रकम तिर्नु नपर्ने भएकाले वार्षिक रुपमा यसबाट ग्राहकले धेरै रकम बचत गर्न सक्छन्।

इन्टरनेट

एफटीटीएच सेवाको प्रमुख विशेषता नै हाई स्पिड इन्टरनेट प्राप्त हुनु हो।यसकारण ग्राहकले यसबाट अविच्छिन्न रुपमा आफूले खोजेको र रोजेको स्पिडमा इन्टरनेट चलाउन सक्छन्। विभिन्न दरका प्याकेजमध्ये आफूलाई उपयुक्त प्याकेज छनोट गरेर तीव्र गतिको इन्टरनेट चलाउन सकिन्छ।

 

टेलिभिजन

नेपाल टेलिकमले NTTV (एनटी टिभी) ब्राण्डमा एफटीटीएचमार्फत आईपी टिभी ( IPTV) सेवा सञ्चालनमा ल्याएको छ। यसबाट विभिन्न दरका प्याकेज अन्तर्गत विभिन्न टेलिभिजन च्यानलहरु हेर्न सकिन्छ।

मोबाइल प्रयोगकर्ताहरुले गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरमार्फत ‘एनटीटीभी’ एप डाउनलोड गरेर मोबाइलमै समेत आफूलाई मन परेको च्यानल जुनसुकै डाटा प्याक तथा वाईफाईमार्फत सहजै हेर्न सकिन्छ।

मोबाइल डाटा

एफटीटीएच लाइन जडान गरी २० एमबीपीएस वा सो भन्दा बढी स्पिडको वार्षिक प्याकेज लिने, पहिले लिइरहेको प्याकेजलाई २० एमबीपीएस वा सो भन्दा बढी स्पिडको वार्षिक प्याकेजमा स्तरोन्नति गर्ने तथा सोही प्याकेज एक वर्ष नवीकरण गर्ने ग्राहकको मोबाइलमा दैनिक ३०० एमबी डाटा उपलब्ध गराइने व्यवस्था छ।

 

सित्तैमा सीपीई ड्रप फाइबर

२० एमबीपीएस वा सो भन्दा बढी स्पिडको वार्षिक प्याकेज लिने, पहिले लिइरहेको प्याकेजलाई २० एमबीपीएस वा सो भन्दा बढी स्पिडको वार्षिक प्याकेजमा स्तरोन्नति गर्ने ग्राहकलाई निःशुल्क सीपीई र १०० मिटरसम्म निःशुल्क ड्रप फाइबर समेत उपलब्ध गराइन्छ। यसबाट ग्राहकलाई १३ हजार रुपैयाँ भन्दा बढीको सुविधा निःशुल्क प्राप्त हुन्छ।