२०८१ बैशाख १४ , शुक्रवार

आरआर क्याम्पसमा उम्मेदवारी दर्ताका क्रममा खुकुरी हानाहान

सुनाखरी न्युज/ काठमाडौं ।
रत्नराज्यलक्ष्मी क्याम्पस प्रर्दशनीमार्गमा  शनिबार दुई विद्यार्थी समूहबीच खुकुरी हानाहान भएको छ ।

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि उम्मेदवारी दर्ताका क्रममा विवाद भएपछि एकीकृत नेकपा समाजवादी निकट अनेरास्ववियुका विद्यार्थीले एमाले निकट अनेरास्ववियुका विद्यार्थीमाथि खुकुरी प्रहार गरेको एमाले निकट विद्यार्थी नेताहरूको आरोप छ ।

 

अनेरास्ववियुका इकाई अध्यक्ष लोकेश खड्काले आफ्ना ३ जना विद्यार्थी घाइते भएको जनाए । राज न्यौपाने, अनिल बोहरा र विवेक गैरे घाइते भएका हुन् । उनले समाजवादी विद्यार्थी युनियनले निर्वाचन बिथोल्ने र निर्वाचन अधिकृतलाई आक्रमण गर्ने प्रयास गर्दा प्रतिकार गरिएको जनाए ।

‘सुदेश पराजुलीको नेतृत्वमा काठमाडौं भरका गुण्डाहरु बोलाएर आक्रमण गर्न खोजियो, निर्वाचन बिथोल्न खोजियो,’ खड्काले भने । पराजुलीले भने उक्त आरोप अस्वीकार गरेका छन् ।

झडपपछि क्याम्पस बाहिर ठूलो संख्यामा प्रहरी प्ररिचालन गरिएको छ ।

शनिबार देशभरका क्याम्पसमा प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ । त्यसका लागि काठमाडौं उपत्यका २२ आंगिक क्याम्पसमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । आरआर क्याम्पसमा भने शनिबार झडप भएपछि क्याम्पस प्रशासनले मनोनयन दर्ताका लागि आइतबारसम्मको समय थपेको छ ।