२०८० चैत्र १५ , बिहिवार

जसपाबाट रामसहाय यादवले दिए उपराष्ट्रपतिमा उम्मेदवारी, एमाले वाट शाक्य

सुनाखरी न्युज/ काठमाडौं ।
जनता समाजवादी पार्टी (जसपा)  का संसदीय दलको नेता रामसहाय प्रसाद यादवले उपराष्ट्रपति पदमा उम्मेदवारी दिएका छन् । यादवले सत्ता गठबन्धनका तर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दिएका हुन् ।

शनिबार नयाँ बानेश्वरस्थित संसद् भवनमा रहेको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय पुगेर यादवले उम्मेदवारी दर्ता गरेका हुन् ।

यादवको प्रस्तावका सांसदहरू अशोककुमार राई, प्रदीप यादव, किशान श्रेष्ठ, शक्ति बस्नेत, रमेशजंग रायमाझी छन् भने समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा, भानुभक्त जोशी रहेका छन् । उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उम्मेदवार यादवले निर्वाचित भए मुलुकको संविधानको रक्षा, गर्न संवर्द्धन गर्ने राष्ट्रिय एकताका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले भने, ‘निर्वाचित भए मुलुकको संविधानको रक्षा, गर्न संवर्द्धन गर्ने राष्ट्रिय एकताका लागि पहल गर्छु ।’

 

सत्ता गठबन्धनबाट उपराष्ट्रपतिमा ३ जनाको उम्मेदवारी पर्ने सम्भावना रहेको छ । शनिबार बिहान प्रधानमन्त्री निवासमा बसेको गठबन्धनको बैठकमा सहमति नजुटेपछि जनमत पार्टीबाट १ जना र जनता समाजवादी पार्टीबाट २ जनाले उम्मेदवारी दिने भएका हुन् । रामसहायसँगै जसपाबाट प्रमिला यादव र जनमत पार्टीबाट ममता झाले पनि उपराष्ट्रपतिमा उम्मेदवार दिने तयारीमा रहेकी छिन् ।

यसअघि एमालेबाट उपाध्यक्षसमेत रहेकी अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपतिमा उम्मेदवार दिएकी छिन् ।

निर्वाचन आयोगले शनिबारका लागि उपराष्ट्रपतिको मनोनयन पत्र दर्ता गर्ने समय तोकेको छ । शनिबार बिहान ९ बजेदेखि २ बजेसम्मलाई मनोनयन दर्ताको समय तोकिएको छ । आइतबार उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । त्यस्तै चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुनेछ ।