२०८० चैत्र १५ , बिहिवार

प्रचण्डको मुद्दामा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार, कारण देखाऊ आदेश

सुनाखरी न्युज/ काठमाडौं ।

सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पक्राउ गर्ने आदेश दिनु नपर्ने निर्णय गरेको छ। न्यायाधीश ईश्वर खतिवडाको इजलासले रिट निवेदकले माग गरे अनुसारको आदेश तत्काल दिन नपर्ने आदेश गरेको हो।

 

प्रधानमन्त्री पुष्पकमल दाहाल, मन्त्रिपरिषद्‌को कार्यालय, गृह, रक्षा र कानुन मन्त्रालय लगायतलाई विपक्षी बनाइएको रिटमा पुष्पकमल दाहाललाई पक्राउ गरी आवश्यक अनुसन्धानको प्रक्रिया अघि बढाउने अन्तरिम आदेशको माग गरिएको छ। द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी आवश्यक कारबाही गर्न आदेश माग गर्दै अधिवक्ता आरण र रामेछापका कल्याण बुढाथोकीले कात्तिकमा दिएको रिट सर्वोच्च प्रशासनले बदर गरे पनि गत शुक्रबार न्यायाधीश ईश्वर खतिवडा र हरिकृष्ण फुयालको इजलासले दर्ता गर्न आदेश दिएको थियो। उक्त इजलासले सुनुवाइ गर्दै दरपिठ गर्ने निर्णय बदर गरी रिट दर्ता गर्न भनेको थियो।

 

त्यसपछि मंगलबार आरण र गिरीले प्रचण्डविरूद्ध अनुसन्धान गर्न माग गर्दै छुट्टाछुट्टै रिट दर्ता गरेका हुन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले २०७६ को माघीको अवसरमा काठमाडौंको खुलामञ्चमा आयोजित कार्यक्रममा आफूलाई १७ हजार मान्छे मारेर आएको भनिए पनि त्यो कुरा सत्य नभएको बताएका थिए। माओवादी सशस्त्र द्वन्द्वका क्रममा १७ हजार मारिएको भनिए पनि त्यो तथ्यांक गलत भएको भन्दै उनले ५ हजारको जिम्मा लिन सक्ने बताएका थिए।