२०८१ बैशाख १४ , शुक्रवार

रञ्जिता श्रेष्ठ उपराष्ट्रपतिको उम्मेदवार बन्ने

सुनाखरी न्युज/ काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ उपराष्ट्रपतिको उम्मेदवार बन्ने पक्का भएको छ । आज (शुक्रबार) बसेको सो पार्टीको संसदीय दलको बैठकले अध्यक्ष श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

 

बैठकको निर्णय सुनाउँदै पार्टीको संसदीय दलका प्रमुख सचेतक गंगाराम चौधरीले श्रेष्ठलाई नै उपराष्ट्रपतिका लागि अघि सार्ने निर्णय भएको बताए । राष्ट्रपति र उपराष्ट्रपति फरक फरक लिंग या समुदायको हुनुपर्ने कानुनी व्यवस्था छ । यसका लागि सकेसम्म फरक समुदायको महिलालाई उपराष्ट्रपति चयन गर्ने केही दलहरुले संकेत दिइसकेका छन् । नेकपा माओवादी केन्द्रले फरक समुदायको महिलालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने सुझाव दिएको छ ।

 

यही अवधारणालाई मध्यनजर गरेर नागरिक उन्मुक्तिले अध्यक्ष श्रेष्ठलाई अघि सारेको हो । श्रेष्ठ गत मंसिर ४ मा भएको निर्वाचनमा कैलाली क्षेत्र नं १ बाट निर्वाचित सांसद हुन् । कांग्रेस–माओवादीसहितको ८ दलीय गठबन्धनमा नागरिक उन्मुक्ति पार्टी रहेको छ । यसअघि सोही गठबन्धनमा रहेको जनता समाजवादी पार्टीले उपराष्ट्रपतिको उम्मेदवारमा संसदीय दलका नेता रामसहाय प्रसाद यादवलाई अघि सार्ने निर्णय गरिसकेको छ । यही फागुन २९ गते उपराष्ट्रपतिको मनोनयन दर्ता हुने कार्यतालिका रहेको छ भने चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुनेछ ।