२०८१ बैशाख ११ , मंगलबार

निर्वाचन आयोगले एआईजी बढुवा गर्न दियो अनुमति

सुनाखरी न्युज/ काठमाडौं । नेपाल प्रहरीमा अतिरिक्त महानिरिक्षक (एआईजी) पदमा बढुवा गर्न निर्वाचन आयोगले अनुमति दिएको छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन आचारसंहिताका कारण गृह मन्त्रालयले आयोगसगँ अनुमति मागेको थियो ।

 

प्रहरीमा ५ वटा प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) पद रिक्त छ । फागुन ७ बाट एआईजी पुजा सिंहले अवकाश पाएपछि रिक्त एआईजीको दरबन्दी ५ पुगेको हो । आयोगको सहमति सँगै गृह मन्त्रालयले रिक्त पदमा बढुवाको तयारी थालेको छ । प्रहरी नायव महानिरीक्षक (डिआईजी) बसन्त बहादुर कुँवर, टेक प्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य बढुवा प्रतिस्पर्धामा आगाडी छन् । एआईजीमा बढुवाका प्रतिस्पर्धीहरु २०५१ चैत ५ मा प्रहरीमा प्रवेश गरेका थिए । प्रतिस्पर्धी मध्येका दिपक थापा २०५२ भदौ १९ मा प्रहरीमा प्रवेश गरेका हुन । प्रतिस्पर्धीहरु मध्येमा जो एक नम्बरमा अतिरिक्त महानिरिक्षकमा बढुवा हुनेछन् तिनै १५ दिनपछि महानिरिक्षक (आईजीपी) हुने संभावना बलियो हुन्छ ।

 

डिआईजीको मेरिट लिस्टमा बसन्त बहादुर कुँवर एक नम्बरमा छन् । दुई नम्बरमा टेक प्रसाद राई, तेस्रो नम्बरमा दिपक थापा छन् । यसअघि मेरिट लिस्टको तेस्रो नम्बरका डिआईजी अशोक सिंहले जन्ममिति विवादका कारण राजिनामा दिए । उनको राजिनामा स्विकृत भैसकेको छ । प्रहरी महानिरिक्षक धिरज प्रताप सिंहसँगै उनका ब्याचमेटहरु २०७९ चैत ११ मा अवकाशमा जाँदै छन् ।