२०८१ बैशाख १२ , बुधवार

सी जिनपिङ लगातार तेस्रो पटक चीनको राष्ट्रपति

सुनाखरी न्युज/ काठमाडौं । सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बनेका छन् । माओत्सेतुङपछि उनले आफूलाई देशको सबैभन्दा शक्तिशाली नेताका रूपमा स्थापित गरेको बताइएको छ ।

 

चीनको संसद्, नेशनल पिपुल्स कंग्रेस (एनपीसी) का झन्डै तीन हजार सदस्यले सर्वसम्मतिले सी जिनपिङको पक्षमा मतदान गरेका छन् । ६९ वर्षीय सी जिनपिङको अगाडि यो निर्वाचनमा अन्य कुनै उम्मेदवारले भाग लिएनन् । चीनको यो संसदलाई राष्ट्रपतिको रबर स्ट्याम्प भनिन्छ । एक घण्टासम्म चलेको मतदान प्रक्रिया १५ मिनेटमा सकिएको थियो । सन् २०१८ मा चीनको संविधानमा परिवर्तन गरेर राष्ट्रपति बन्ने सीमा खारेज भएपछि यस निर्वाचनमा सी जिनपिङको जित निश्चित थियो । त्यसपछि मात्र २०२३ मा सीले तेस्रो पटक सत्तामा रहनका लागि यो परिवर्तन गरेको अनुमान गरिएको थियो ।

 

सी जिनपिङले सोमबार संसद्को वार्षिक अधिवेशनमा सम्बोधन गर्नेछन् । तीन वर्षसम्म चलेको कडा कोभिड नीतिका कारण हाल चीन आर्थिक सङ्कटको सामना गरिरहेको छ । गत हप्ता सी जिनपिङले चीनको आर्थिक सङ्कटका लागि अमेरिका र पश्चिमी देशलाई दोष दिएका थिए। राष्ट्रपति चुनाव जित्नु धेरै हदसम्म औपचारिकता हो । सी जिनपिङलाई उनको पार्टीले केन्द्रीय सैन्य आयोगको अध्यक्षमा यसअघि नै चयन गरिसकेको छ । उनले चिनियाँ सशस्त्र बलको कमान्डर–इन–चीफको रूपमा आफ्नो तेस्रो कार्यकाल सुरु गरिसकेका छन् ।एजेन्सी