२०८० चैत्र १६ , शुक्रवार

प्रचण्डविरुद्ध परेको रिटको सुनुवाइ आज हुँदै

सुनाखरी न्युज/ काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्धको रिटमाथिको सुनुवाइ आज हुने भएको छ ।

 

प्रचण्ड विरुद्ध सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ हिजो हेर्न नभ्याउनेमा पुगेर स्थगित भएको थियो । बिहीबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा उक्त रिटको पेसी तोकिएकामा हेर्न नभ्याउने हुँदै स्थगित भएको थियो । उक्त रिटबारे आज पेसी तोकिएको छ । सोसँगै आज सुनुवाइ हुने भएको हो । हिजो राष्ट्रपतिको निर्वाचनका कारण प्रधानमन्त्री प्रचण्ड उपस्थित हुन नसकेपछि उक्त मुद्दालाई हेर्न नभ्याउनेमा पुगेर स्थगित गरिएको थियो। सोको मुद्दामा प्रधानमन्त्री नै उपस्थित हुनुपर्ने छ ।

 

२०७३ साल माघ १ गते काठमाडौंको टुँडिखेलमा आयोजित एक कार्यक्रममा प्रचण्डले द्वन्द्वकालीन समयमा मारिएका १७ हजारमध्ये पाँच हजार जनाको हत्याको जिम्मेवारी आफूले लिने बताएका थिए । सो अभिव्यक्तिबमोजिम उनीमाथि छानबिन तथा अभियोजन हुनुपर्ने माग गर्दै ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकीलगायत सशस्त्र द्वन्द्वका पीडितले सर्वोच्चमा रिट दायर गरेका थिए ।