२०८० चैत्र १५ , बिहिवार

दोस्रो अर्थशास्त्री सम्मेलन फागुन २६ र २७ गते राजधानीमा आयोजना हुने

सुनाखरी न्युज/ काठमाडौं । दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन यहि फागुन २६ र २७ गते काठमाण्डौमा आयोजना हुने भएकोे छ । आत्मनिर्भर तथा समुन्नत अर्थतन्त्र निर्माणमा हाम्रो अभियान भन्ने नारा दिइएको यस सम्मेलन विभिन्न संघ संस्थाहरुसँगको सहकार्यमा राष्ट्रिय आर्थिक सरोकार समाज, नेपालले आयोजना गर्नलागेको हो ।

अर्थतन्त्रका समसामयिक मुद्दाहरुमा बहस चलाई समाधानका उपाय सहित सरकार, राजनैतिक दलहरु तथा नीति निर्माणमा सम्लग्न निकायहरुलाई कार्यान्वयनको लागि सुझाव दिने उदेश्यका साथ दोस्रो अर्थशास्त्री सम्मेलन आयोजना गर्न लागिएको आयोजक संस्थाले जनाएको छ । दुईदिने सम्मेलनलाई पहिलो दिन उद्घाटन सत्र र दोस्रो दिन प्राविधिक सत्र गरि विभाजन गरिएको आयोजक संस्थाले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रमुख अतिथि रहने पहिलो दिनको कार्यक्रम काठमाण्डौको राष्ट्रिय सभागृहमा शुक्रबार दिउसो २ बजे सुरु हुने र दोस्रो दिनको कार्यक्रम विहान ७ बजेदेखि होटल एलो प्यागोडा जमलमा सुरु हुने समयतालिका रहेको छ । पहिलो दिनको उद्घाटन सत्रमा एउटा र प्राविधिक सत्रमा १५ वटा समसामयिक विषयहरुमा कार्यपत्रहरु प्रस्तुत हुने बताइएको छ ।

 

अर्थशास्त्री सम्मेलनमा प्रधानमन्त्रीका साथै पुर्व प्रधानमन्त्रीहरु, पूर्व अर्थमन्त्रीहरु, राजनितिक पार्टीका प्रतिनिधिहरु, राष्ट्रिय योजना आयोगका वर्तमान तथा पूर्व उपाध्यक्षहरु, राष्ट्रबैंकका गर्भनर तथा पूर्व गर्भनरहरु, वरिष्ठ तथा उदयीमान अर्थशास्त्रीहरु, कामनपा प्रमुख, बैंकर्स एसोसियशनका प्रतिनिधि, उद्योग बाणिज्य महासंघ नेपाल, उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष, सहकारी महासंघका अध्यक्ष, एनआरएनएका अध्यक्ष, विश्वविद्यालयका उपकुलपतिहरु, गाउँपालिका तथा नगरपालिका महासंघका अध्यक्षहरु, सांसदहरु, बैंकिङ्ग क्षेत्रका प्रतिनिधि, विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थीहरु, नीति अनुसन्धानमा संलग्न विज्ञहरु, उद्योगी व्यवसायीहरु राष्ट्रिय अर्थतन्त्रमा सरोकार राख्ने विभिन्न तहका व्यक्तिहरु, पत्रकारहरु सहितको उपस्थिति रहने बताइएको छ ।

 

पछिल्लो दशकमा बढ्दै गएको अनियन्त्रित आयातले राष्ट्रिय उद्योगलाई धरासायी बनाउँदै मुलुकलाई परनिर्भर र आर्थिकरुपमा थप अस्थिर बनाउँदै लगेको छ । बैंक तथा वित्तीय संस्थाहरुबाट हुने लगानी पनि उत्पादनशील क्षेत्रमा परिचालन हुन सकिरहेको छैन । हाल बैंकिङ क्षेत्रमा देखिएको तरलता समस्या तथा बढ्दो व्याजदरले लगानीको वातावरण बन्न सकिरहेको छैन । यसै परिस्थितिलाई मध्येनजर गर्दै लगानीमैत्री वातावरण निर्माण, स्वदेशी उद्योगको प्रवर्दनमा र सूचना प्रबिधि क्षेत्रमा टेवा पुर्याउन अर्थतन्त्रका विभिन्न विषयवस्तुहरुमाथि यस सम्मेलनमा छलफल गरिने जनाइएको छ ।

साथै यस सम्मेलनमा प्रस्तुत कार्यपत्र तथा सम्मेलनको निष्कर्षलाई प्रोसिडिङको रुपमा तयार गरी नेपाल सरकार तथा सम्बन्धित नीति निर्माताहरुलाई बुझाइने छ । यसले मुलुकको आर्थिक सम्मृद्धिको यात्रामा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा आयोजकले गरेको छ । गतसाल पनि यस समाजले प्रथम राष्ट्रिय अर्थशास्त्री सम्मेलन सफलतापूर्वक सम्पन्न गरी सम्मेलनको निष्कर्ष सहितको प्रोसिडिङ प्रकाशन गरेर नेपाल सरकार तथा सम्बन्धित नीति निर्माणकर्ताहरुलाई पेश गरेको थियो ।