२०८१ बैशाख १४ , शुक्रवार

सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला

IPO

सुनाखरी न्युज/ काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आज फागुन २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गरेको छ।

 

कम्पनीले जारी पुँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल ४९ लाख ९८ हजार ७५० कित्ता सर्वसाधारणका लागि छुट्याएको थियो। कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने ४ लाख ९९ हजार ८७५ कित्ता सेयर यसअघि नै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्री खुला गरिसकेको छ। बाँकी रहेको सेयरमध्ये अब ५ प्रतिशतले हुन आउने २ लाख ४९ हजार ९३६ कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ भने ४२ लाख ४८ हजार ९३८ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

 

लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। आईपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सकिने व्यवस्था गरिएको छ। सानिमा मिडिल तमोरको आईपीओमा फागुन ३० गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा चैत १० गतेसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। यो आईपीओको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।