२०८१ बैशाख ६ , बिहिवार

नवनिर्वाचित राष्ट्रपति पौडेल निवासमा बधाई दिनेहरूको भीड

सुनाखरी न्युज/ काठमाडौं । मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित पूर्वसभामुख रामचन्द्र पौडेलको बोहोराटारस्थित निवासमा बधाई तथा शुभकामना दिनेहरूको भीड लागेको छ । राष्ट्रपति पौडेललाई बधाई दिन उल्लेख्य सङ्ख्यामा आफन्त, नेता कार्यकर्ता एवं शुभेच्छुकहरूको भीड लागेको हो ।

 

राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेल सङ्घीय संसद् भवनबाट निवास बोहोराटार पुग्नुभएको थियो । पौडेल निवास पुग्नासाथ बटुकहरूले स्वस्ति वाचन गरेर स्वागत गरेका थिए । घरपरिवार आफन्तले सगुनका साथ फूलमाला, खादा र अबिर लगाएर बधाई दिँदै खुसी साटेका थिए । निवास परिसरमा जम्मा भएको भीडले पौडेल निवास उल्लासमय बनेको छ । रङ्गीचङ्गी बत्तीको झिलिमिलीले पौडेलको घर सिँगारिएको छ । बधाई दिने र आपसमा खुसी साट्नेहरूको चहलपहलले बेग्लै रौनक थपेको छ । उपस्थित अधिकांश फोटो र सेल्फी लिन भ्याइनभ्याइ देखिन्थे ।

 

खुसियाली र स्वागत

राष्ट्रपति पौडेल निवासमा आज राति अबेरसम्म बधाई तथा शुभकामना दिने र खुसी आदनप्रदान चल्ने जनाइएको छ । निवासमा नेता कार्यकर्ता र आफन्तको भीड छ । जिल्लावासीहरूको पनि उत्तिकै बाक्लो उपस्थिति रहेको छ । उपस्थित अधिकांशले ‘रामचन्द्र पौडेल जिन्दावाद’ को नारा समेत लगाएका थिए । यसअघि राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेललाई संसद् भवनको ल्होत्से हलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले बधाई दिनुभयो । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउत, नागरिक उन्मिुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायतले पनि उहाँलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति निर्वाचित भएको प्रमाणपत्र राष्ट्रपति पौडेललाई दिनुभएको थियो । उल्लेख्य सङ्ख्यामा उपस्थित विभिन्न राजनीतिक दलका नेता, सांसद, विभिन्न निकायका उच्च अधिकारी, नेता कार्यकर्ता, शुभेच्छुकलगायतले राष्ट्रपति पौडेललाई माला, खादा पहिराएर शुभकामना तथा बधाई दिनुभएको थियो ।