२०८१ बैशाख १३ , बिहिवार

निर्वाचीत राष्ट्रपतिलाई आजै प्रमाणपत्र दिइने

सुनाखरी न्युज/ काठमाडौ ।
मतगणनापश्चात विजयी उम्मेदवारलाई आजै प्रमाणपत्र वितरण गरिने  निर्णय  निर्वाचन अधिकृतको कार्यालयले गरेको छ ।

मतगणनाका विषयमा राष्ट्रपति पदका उम्मेदवारका प्रतिनिधिहरूसँग १ बजे छलफल गरेको आयोगले ७ निर्णय गरेको हो ।

राष्ट्रपति निर्वाचनको मतगणनाका विषयमा निर्वाचन अधिकृतको कार्यालयले ७ निर्णय गरेको छ ।

बैठकमा सहभागी राष्ट्रपति पदका उम्मेदवार सुवासचन्द्र नेम्वाङका प्रतिनिधि महेश बर्तौलाले सात निर्णय भएको जानकारी दिए । बैठकमा राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृत महेश शर्मा पौडेल, राष्ट्रपति उम्मेदवार रामचन्द्र पौडेलका प्रतिनिधि रमेश लेखक र नेम्वाङका प्रतिनिधि बर्तौला लगायतको उपस्थिति थियो ।

 

यस्ता छन् राष्ट्रपति उम्मेदवारका प्रतिनिधिहरूसँग निर्वाचन आयोगको मतगणनासम्बन्धी बैठकले गरेका निर्णय :

दिउँसो ४ बजेदेखि मतगणना सुरु हुने
स्वस्तिक छाप नभएको मत बदर हुने
सम्बन्धित उम्मेदवारको नाम लेखिएको कोठामा मत संकेत प्रयोग गर्नुपर्ने, अन्यथा बदर
संघीय संसद् र प्रदेश सभाको अलगअलग मतगणना हुने
मतगणनामा राष्ट्रपति उम्मेदवारका निर्वाचन प्रतिनिधि र एक(एक जना गणना प्रतिनिधि रहने
मतपेटिका खोल्दा पत्रकारको उपस्थिति खुल्ला गर्ने
मतगणनापश्चात विजयी उम्मेदवारलाई आजै प्रमाणपत्र वितरण गरिने