२०८१ बैशाख १२ , बुधवार

यस्ता छन मिस वर्ल्डमा प्रियंकारानीको तयारी

सुनाखरी न्युज/ काठमाडौं । आगामी मे महिनामा यूएईको दुबईमा विश्वसुन्दरी प्रतियोगिताको ७१ औं संस्करण आयोजना हुँदैछ । ८० मुलुकका सुन्दरीले संसारकै प्रतिष्ठित मानिने उक्त ब्युटी पेजेन्टमा ताज जित्नको लागि प्रतिस्पर्धा गर्दैछन् । पहिलोपटक यूएईमा हुन लागेको ग्राण्ड फिनालेमा नेपालबाट मिस नेपाल वल्र्ड प्रियंकारानी जोशीले सहभागिता जनाउँदैछिन् ।

 

उपाधि जित्ने लक्ष्यसहित प्रियंका अहिले तयारीमा व्यस्त छिन् । खासगरी शीर्ष पाँच विधामा जसरी भएपनि जित्ने उनको रणनीति देखिन्छ । यी विधामा जित्न सकिए सोझै अन्तिम १५ र २० मा पुग्न सकिने भएकाले पनि नेपालले यसतर्फ जोड दिइरहेको हो । मब–एपबाट बढीभन्दा बढी भोटको आशा राख्दै उनले मल्टिमिडिया अवार्ड जित्ने आशा राखेकी छन् । यसका लागि प्रचारप्रसारलाई तीव्र तुल्याउने उनको आशा छ । मोडल वाच विधामा समेत अब्बल बन्नको लागि गाउनदेखि अन्य विशेषतामा समेत उनले आफूलाई तयारी गरेकी छन् ।

 

प्रियंका आगामी मिस नेपाल प्रतियोगिताका लागि भइरहेका अडिसनमा व्यस्त छिन् । उनी बिहीबार अडिसनका लागि नेपालगञ्जतर्फ प्रस्थान गरेकी छन् । त्यसपछि सोमबार सुर्खेतमा अडिसनको कार्यक्रम छ ।