२०८० चैत्र १५ , बिहिवार

निजी क्षेत्रको प्रतिष्ठा बढाउने गरी काम गर्नेछु, वरिष्ठ उपाध्यक्ष ढकाल

सुनाखरी न्युज/ काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई समाज र राज्यले हेर्ने दृष्टिकोणमा व्यापक परिवर्तन गर्न आवश्यक रहेको बताउनुभएको छ ।

 

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको छैठौँ प्रदेश सभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भन्नुभयो, “निजी क्षेत्रलाई सम्मानित बनाउने गरी र निजी क्षेत्रको खस्किएको साखलाई पुनस्थापित गर्ने गरी काम गर्नुपर्नेछ । यसकालागि हामीले सकेसम्म जिल्ला नगर, प्रदेश र केन्द्रको नेतृत्व सर्वसम्मतरुपमा चयन गर्न आवश्यक छ । निजी क्षेत्रका मागहरु पुरा गर्नको लागि बलियो र सशक्त निजी क्षेत्र बनाउनुपर्नेछ ।” उहाँले सस्तो लोकप्रियता र भिडमा तालीका लागि मात्र गैरजिम्मेबार ढंगले विषयवस्तु नउठाउन सबैलाई आग्रह गर्नुभयो । “म निजी क्षेत्रका साथीहरुलाई पनि भन्न चाहन्छु । तपाईहरु वास्तविक र व्यवहारिक बन्नुस् । त्यसबाट बाहिर गएर भिडमा लोकप्रिय बन्ने प्रतिस्पर्धा नगरौँ । सस्तो लोकप्रियताका लागि यस्ता गैरजिम्मेबार कुराका पछाडि नलागौ । यसले कुनै दिन हामीले कल्पना नगरेको संकट निम्ताउन सक्छ,” उहाँले भन्नुभयो ।

 

कोरोनाभाइसरका कारण मुलुकको आर्थिक अवस्था बिग्रिएको बताउदै उहाँले कोरोनाभाइरसका कारण वैदेशिक रोजगारमा जानेक्रम घट्दा, नेपाल फर्किएका कामदारहरु तत्काल विदेश जान नपाउँदा रेमिट्यान्सको आप्रवाहमा कमी आउन गएको बताउनु भयो । त्यस्तै, बाह्य पर्यटकको संख्या घट्दा र बैंकमा लगानी योग्य तरलताको अभाव हुँदा धेरै उद्योग व्यवसायहरु खुम्चिन बाध्य भएको उहाँले बताउनुभयो ।“कोरोनाभाइरसको समयमा ६ महिनाको अवधिमा बैंकहरुबाट साढे ४ खर्ब रुपैयाँ कर्जा गएको छ । त्यसबेला जब बैंकमा तरलता बढ्यो त्यो समयमा बैंकले उद्योगी व्यवसायीहरुलाई कर्जा लिनको लागि प्रोत्साहन गरेका थिए । बैंकहरुले पनि सहजरुपमा कर्जा दिएकै हुन् । उद्योगी व्यवसायीहरुले कर्जा लिएर घर जग्गा किनेको पनि हो,” उहाँले भन्नुभयो ।“तर कोरोनाभाइरसपछि जब वैदेशिक रोजगारमा जाने क्रममा कमी आयो, गएकाहरु पनि फर्किने क्रम बढ्यो । पर्यटकहरु आउने क्रम रोकियो । तब, बैंकमा रहेको तरलता सकिदै गयो । त्यसपछि नेपाल राष्ट्र बैंकले बैंकहरुलाई तरलता व्यवस्थापन गर्नका लागि मुद्दतीमा ५० प्रतिशत र बचतमा १०० प्रतिशत जस्तो व्याज बढाउने नीति लियो । त्यसको फलस्वरुम करिब ८ प्रतिशत मात्र तरलता बैंकमा आयो । तर, यसले बैंकको लागत बढ्न गयो । बैंकको व्याज बढेपछि तरलता बढ्छ भनेको त्यसो हुन सकेन ।”

 

उहाँले अर्थतन्त्रका केही कुराहरुमा सुधार आएको बताउँदै अर्थतन्त्र अहिलेको अवस्थाभन्दा नबिग्रने विश्वास व्यक्त गर्नुभयो ।
“वैदेशिक रोजगारमा जानेको संख्या पनि बढेको छ । विदेशबाट आउने पर्यटकको संख्या पनि बढ्न थालेको छ । रेमिट्यान्सको आप्रवाह पनि बढेको छ । बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको अवस्थामा पनि सुधार देखिएको छ । र, आउने दिन आउने दिनमा अर्थतन्त्र यो भन्दा धेरै बिग्रिन्छ भन्ने मलाई लाग्दैन । केही न केही सुधार हुने मलाई विश्वास छ,” उहाँले भन्नुभयो । हरेक असजिलोमा संघर्ष गरेर सहज परिस्थितिको अपेक्षा गरेर बस्ने निजी क्षेत्र सानातिना असहजताबाट आत्तिन नहुने पनि उहाँले बताउनुभयो । उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वमा महिलाहरुको प्रतिनिधित्व हुनुप-यो भन्ने मागमा आफ्नो पूर्ण समर्थन रहेको बताउँदै उहाँले आफ्नो कार्यकालमा महासंघमा महिला प्रतिनिधित्व बढाउन पुरापुर प्रयास गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो । उहाँले महासंघको विधानमा रहेका केही प्रावधानहरु नमिलेको बताउँदै त्यसलाई संशोधन गरेर अगाडि बढ्ने बताउनुभयो ।