२०८१ बैशाख ८ , शनिवार

बच्चालाई थाहै नहुने गरी यसरी खुवाउनुहोस् तरकारी

सुनाखरी न्युज/ काठमाडौं । हरेक अभिभावकलाई आफ्नो बच्चा विरामी नभए हुन्थ्यो भन्ने लाग्दछ । यसका लागि बच्चालाई सबैखाले पोषण दिन जरुरी हुन्छ ।

जसमा हरियो तरकारी यस्तो खाना हो जो अत्यधिक बच्चाहरुलाई मन पर्दैन । बच्चालाई स्वस्थ राख्नका लागि अन्य खानपानसँगै हरियो सागपात तथा तरकारी पनि खुवाउन आवश्यक हुन्छ ।यदि तपाईं कसरी खुवाउने भनेर चिन्तित हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन, हामीले केही उपायहरु लिएर आएका छौं जसलाई अपनाउँदा बच्चाले खुशीसँग वा थाहै नपाई तरकारी खान्छन् ।

 

प्यूरी बनाएर खुवाउने

यो हरियो तरकारी तथा सागपातलाई सेवन गर्ने सबैभन्दा सजिलो र राम्रो तरिका हो । यदी तपाईंले सिधा सिधा खानामा तरकारी मिसाएर दिनुभयो भने बच्चाले खाँदैन । तर यदी तरकारीको प्यूरी बनाएर खानामा मिसाउनुभयो भने बच्चालाई थाहै हुँदैन र उसले सजिलोसँग तरकारी खाने गर्दछ । साथै तपाईं तरकारीको प्यूरी पिठो मुछ्न पनि सक्नुहुन्छ जसले गर्दा रोटी तथा परौठाबाटै तपाईं बच्चालाई तरकारी खुवाउन सक्नुहुन्छ ।

खिचडी वा पुलावमा मिसाउने

यदी तपाईं आफ्नो बच्चाको लागि खिचडी वा पुलाव बनाउँदै हुनुहुन्छ भने तरकारीहरु राख्न नभुल्नुहोस् । एकदमै मसिनो गरी काटेर पालक, ब्रोकाउली, घिरौंला, भिन्डी आदि खिचडीमा मिसाउन सकिन्छ । जसले गर्दा खिचडीको स्वाद पनि मिठो हुन्छ र तरकारी पनि बच्चाले खान पाउँछ ।

बच्चाको मनपर्ने खानामा मिसाउने

बच्चाका लागि कुनै एउटा खानाको परिकार मनपर्ने हुन्छ । जसलाई ऊ पटक पटक खान चाहन्छ । त्यसैमा उसलाई तरकारीहरु मसिनो गरी काटेर मिसाएर दिन सक्नुहुन्छ । तरकारीहरुलाई मसिनो पारी विभिन्न तरकारी मिसाएका परौठा बनाउन सकिन्छ । पकौडा मन पर्छ भने बच्चालाई विभिन्न तरकारीहरुको पकौडा खुवाउन सकिन्छ । गाजर, ब्रोकाउली, मटर, हरियो भटमास जस्ता खानेकुरा बच्चाहरुलाई उसिनेर मात्रै पनि मन पर्दछ ।

 

तरकारीको फाइदा सम्झाउनुहोस्

हरेक पटक लुकाएर दिन सम्भव नहुन पनि सक्छ । सधैं यसो गरिरहँदा बच्चाले तरकारी खाए पनि त्यसको महत्व बुझ्दैन । त्यसैले बच्चालाई राम्रोसँग तरकारीका फाइदाका बारेमा पनि सम्झाउने गर्नुहोस् । कतिपय अवस्थामा बच्चाहरु सम्झाएर, फकाएर खुवाउँदा खान मान्ने गर्दछन् । त्यसैले उसँगै बसेर तपाईं पनि खानुहोस् र उसलाई पनि आफै तरकारीहरु खान सिकाउनुहोस् । बच्चालाई विरामी भएको समय सम्झाउँदै तरकारीहरु नखाएर विरामी हुन्छ भनेर बुझाउन पनि सक्नुहुन्छ । जसले गर्दा बच्चाहरु गाह्रो हुने डरले पनि तरकारी खान थाल्छन् । अहिले इन्टरनेटमा प्रसस्तै तरकारीको महत्व बुझाउने तथा खान सिकाउने भिडियोहरु उपलब्ध छन् । तपाईं त्यस्ता भिडियोहरु देखाउन पनि सक्नुहुन्छ ।एजेन्सी