२०८१ बैशाख ८ , शनिवार

निकिताले खोल्ने भईन नारी टिभी

सुनाखरी न्युज/ काठमाडौं । गोपीकृष्ण सिनेमा हलकी सञ्चालक निकिता पौडेलले ‘नारी टिभी’ खोल्ने भएकी छिन्। १३३औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर उनले यो घोषणा गरेकी हुन्।

 

हाल सञ्चालनमा आइरहेको ‘टिभी फिल्मी’ को नाम परिवर्तन गरेर ‘नारी टिभी’ राख्ने उनले बताइन् । उनले आफ्नो टिभीलाई नारीहरूप्रति समर्पित गर्ने पनि बताइन्। ‘टिभी फिल्मी’ अब छिट्टै ‘नारी टिभी’ बनेर आउनेछ। आज नारी दिवसका दिनमा यो घोषणा गर्न पाउँदा मलाई हर्ष र गर्व लागेको छ,’ निकिताले भनिन्। नारी टिभी च्यानलका कर्मचारी, प्राविधिक, प्रस्तोताका रूपमा नारीहरूलाई नै प्राथमिकतामा राखिने उनको भनाइ छ।

 

‘नारी टिभीमा प्रस्तुत हुने कार्यक्रम, विषय, मुद्दाहरू अधिकांश नारीहरूमै केन्द्रित रहनेछन् । महिलाका मुद्दा, महिला सशक्तीकरण, साना तथा घरेलु महिला उद्यमीलाई सघाउने, महिला हिंसाका विरुद्ध खडा हुने, छोरीहरूलाई सबल सक्षम बनाउने र सबल सक्षम छोरीहरूका प्रेरणादायी कथाहरू देखाउनेलगायतका कार्यक्रम यस च्यानलमा प्रसारण गरिनेछन्,’ उनले भनिन्।