२०८१ बैशाख १४ , शुक्रवार

आयकर अनपेक्षित घटेपछि खोजबिनमा राजस्व विभाग

सुनाखरी न्युज/ काठमाडौं । आन्तरिक राजस्व विभागले कर विवरण बुझाउन र तिर्नुपर्ने राजस्व छिटो तिर्न व्यवसायीहरूलाई सचेत गरेको छ।

 

विभागले एक सूचना जारी गर्दै कारोबार गर्ने तर यथार्थ विवरण ‘आय विवरण’ नबुझाएको शंका गर्दै त्यस्तो क्रियाकलपा नगर्न सचेत गरेको हो। ‘कारोबार गरी मूल्य अभिवृद्धि करको विवरण दाखिला गरेको, भन्सार तथ्यांक (आशिकुडा) अनुसार आयात-निर्यात गरेको एवं त्यस्ता करदाताको नाममा अग्रिम कर कट्टी भएको देखिएको छ,’ विभागको सूचनामा भनिएको छ, ‘कर लाग्ने कारोबार गरेको देखिएको तर हालसम्म विवरण र कर दाखिला गरेको नपाइएकाले आर्थिक वर्ष २०७८/७९ सम्मको विवरण र कर अविलम्ब दाखिला गर्नुभई आफ्नो कर दायित्व फरफारक गर्नुहुन अनुरोध छ।’

 

दर्ता भएका करदाताहरूले प्रत्येक आय वर्षको आय विवरण असोज मसान्त (म्याद थप गराएकोमा पुस मसान्त) भित्र दाखिला गर्नुपर्ने कानुनी व्यवस्था छ। तर यो समयमा फरफारक नगरेपछि जरिवाना तथा ब्याज लाग्ने विभागका निर्देशक राजु प्याकुरेलले बताए। ‘सबैले समयमा नै विवरण बुझाउँछन् भन्ने हुँदैन। यो वर्ष धेरैले विवरण नबुझाएको देखियो। त्यसैले हामीले सम्झाएका हौं,’ उनले भने, ‘ढिला गरेबापत जरिवाना तथा ब्याज रकम भने लाग्नेछ।’ उनले यस विषयमा विभागले अध्ययन पनि गर्ने बताएका छन्। अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्षको आय विवरण दाखिला गर्ने करदाता ठुलो संख्यामा घटेको देखिएपछि विभाग खोजबिनमा लागेको हो।