२०८१ बैशाख ४ , मंगलबार

सरकारको खर्च साढे ७ खर्ब नाघ्दा आम्दानी ६ खर्बमात्रै

सुनाखरी न्युज/ काठमाडौं । चालु आर्थिक वर्ष २०७९–८० को आठौँ महिना सकिन एक सातामात्रै बाँकी छ। यो अवधिमा सरकारको बजेट कुल खर्च ३९.८१ प्रतिशतबराबर देखिएको छ।

 

सरकारले चालु आर्थिक वर्षका लागि कुल १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँबराबरको बजेट विनियोजन गरेकोमा फागुन २३ गते मंगलबारसम्म ७ खर्ब ५३ अर्ब ३४ करोड रुपैयाँ खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। कार्यालयको तथ्यांकअनुसार ८ महिनाको अवधिमा पुँजीगत खर्च निराशाजनक देखिएको छ। सरकारको पुँजीगत खर्च एक चौथाइ पनि हुन सकेको छैन। महालेखाले मंगलबारसम्म संघीय सरकारको पुँजीगत खर्च जम्मा ७९ अर्ब ३ करोड रुपैयाँ छ। सरकारले चालु आवमा यो शीर्षकमा ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ बजेट छुट्याएको थियो। जसमा हालसम्म विनियोजित बजेटको २०.७८ प्रतिशत मात्रै विकास खर्च भएको हो।

 

त्यसैगरी चालु शीर्षकमा विनियोजित कुल ११ खर्ब ८३ अर्ब २३ करोड रुपैयाँ बजेटमध्ये हालसम्म ४९.८६ प्रतिशत अर्थात् ५ खर्ब ९० अर्ब १ करोड रुपैयाँ खर्च भएको छ। महालेखाका अनुसार वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ३० अर्ब २१ करोड रुपैयाँ बजेट छुट्याइएकोमा मंगलबारसम्म ८४ अर्ब ३० करोड रुपैयाँबराबर खर्च भएको छ। वित्तीय व्यवस्था शीर्षकमा विनियोजित बजेटको ३६.६२ प्रतिशत खर्च भएको हो। मंगलबारसम्म सरकारले ५ खर्ब ५९ अर्ब २६ करोड रुपैयाँ राजश्व संकलन गरेको छ। यस अवधिमा सरकारलाई करमार्फत ५ खर्ब ५ अर्ब २० करोड रुपैयाँ र गैरकरमार्फत ५४ अर्ब ६ करोड रुपैयाँ प्राप्त भएको छ भने ४ अर्ब ८० करोड रुपैयाँ अनुदान पाएको छ। यस्तै अन्य शीर्षकमा ३५ अर्ब १५ करोड रुपैयाँ सरकारले प्राप्त गरेको महालेखाले जनाएको छ।

 

चालु आर्थिक वर्षका लागि सरकारले कुल १४ खर्ब ३ अर्ब १४ करोड रुपैयाँ आन्तरिक राजस्व उठाउने लक्ष्य राखेको छ। जसमा करमार्फत १२ खर्ब ९५ अर्ब ३७ करोड रुपैयाँ र गैरकरमार्फत १ खर्ब ७ अर्ब ७७ करोड रुपैयाँ उठाउने लक्ष्य राखेकोमा ५५ अर्ब ४५ अर्ब रुपैयाँ वैदेशिक अनुदान लिने सरकारको लक्ष्य रहेको छ। लक्ष्यअनुरुप राजश्व संकलन हुन नसक्दा सरकारी खाता निरन्तर ऋणात्मक बन्दै गएको महालेखाको तथ्यांकले देखाएको छ। महालेखाले मंगलबारसम्म सरकारी खाता १ खर्ब ५४ अर्ब रुपैयाँले ऋणात्मक बनेको जनाएको छ। अर्थात आम्दानीको तुलनामा १ खर्ब ५४ अर्ब रुपैयाँ खर्च धरै भएको हो। बिहीबारसम्म सरकारी खातामा ५ खर्ब ९९ अर्ब २३ करोड रुपैयाँ जम्मा भएको छ भने कुल खर्च ७ खर्ब ५३ अर्ब ३४ करोड रुपैयाँ भइसकेको महालेखाको तथ्यांकले देखाएको छ।