२०८१ बैशाख ७ , शुक्रवार

होलीदेखि अन्नपूर्ण केवलकारका यात्रुलाई भारी छुट

सुनाखरी न्युज/ पोखरा । पोखराको पर्यटन क्षेत्रमा नवीनता प्रदान गर्दै आएको अन्नपूर्ण केवलकारले होलीको अवसर पारेर सोमबारदेखि पोखरा वरिपरिको दृश्यावलोकन सहज बनाउँदै केवलकारमा भारी छुटको घोषणा गरेको छ ।

 

यो योजना होलीको दिनदेखि पोखरा घुम्ने नेपाली पर्यटकका लागि ल्याइएको केवलकारले जनाएको छ । पोखराको आन्तरिक पर्यटन प्रवद्र्धनका लागि कम्पनीले यस्तो व्यवस्था गरेको जनाएको छ । यसअघि कायम गरिएको दररेटमा ५० प्रतिशतसम्म छुट प्रदान गरिएको अन्नपूर्ण केवलकारका प्रशासन प्रमुख दामोदर तिमिल्सिनाले जनाएका छन् । कम्पनीका अनुसार बिहान ५ देखि साढे ७ बजेसम्म सराङकोटबाट सूर्योदय अवलोकनका लागि जान चाहने पर्यटकले दुईतर्फी भाडा ४ सयमात्रै तिरे पुग्छ । यसअघि सो समयमा ७ सय रुपैयाँ भाडा रहेको थियो । त्यसमा भारी छुट प्रदान गर्दै पर्यटकलाई सहजता प्रदान गर्न लागिएको कम्पनीले जनाएको छ ।

 

त्यसमा पनि अपांगता भएका व्यक्तिलाई लक्षित गर्दै दुईतर्फी भाडा ३५० मात्रै कायम गरिएको कम्पनीले जनाएको छ । त्यस्तै विद्यार्थी र बालबालिकालाई पनि छुट प्रदान गरिएको छ । विद्यार्थी र बालबालिकाका लागि बिहान ५ बजेदेखि साढे ७ बजेसम्म दुईतर्फी ४ सय र एकतर्फी यात्राका लागि २ सय रुपैयाँ शुल्क तय गरिएको छ । साढे ७ देखि ८ बजेसम्मको समय ‘ब्रेक’ राखिएको छ भने बिहान ८ बजेदेखि साढे १ बजेसम्मका लागि भने पहिलेकै भाडादर तय गरिएको छ । जसमा यो समयमा यात्रा गर्ने अपांगता, बालबालिका र विद्यार्थीबाहेकलाई दुईतर्फी भाडा ७ सयमात्रै कायम गरिएको छ ।

 

पर्यटकीय नगरी पोखराको सेदीबगरदेखि सराङकोटसम्म केवलकारमा यात्रा गर्न सकिन्छ । केवलकारले सूर्योदर्शन सेवा तथा सूर्यास्तको अवलोकनका लागि यो सेवा प्रदान गरिएको जनाएको छ । रमणीय दृश्यावलोकनका साथै अन्नपूर्णसहित विभिन्न हिमाललाई यो क्षेत्रबाट नजिकबाट नियाल्न सकिन्छ। केवलकार कम्पनीले साँझको समयमा पनि छुटको व्यवस्था गरेको जनाएको छ । बिहानी सेवाजस्तै दिउँसो २ बजेदेखि ६ बजेसम्म यो सेवा प्रदान गर्न लागिएको अन्नपूर्ण केवलकारले जनाएको छ । अन्नपूर्ण केवलकारले यसअघि पनि विभिन्न छुट प्रदान गर्नुका साथै यात्रुका लागि विशेष बस सेवा सञ्चालनमा ल्याएको थियो । स्वेदशी तथा विदेशी पर्यटक यसबाट पनि लाभान्वित भइरहेका छन् ।