२०८० चैत्र १५ , बिहिवार

प्रभु इन्स्योरेन्सको २७ औँ बार्षिक साधारण सभा सम्पन्न, ७.०५ प्रतिशत लाभांश पारित

सुनाखरी न्युज/ काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको २७ औँ वार्षिक साधारण सभा फाल्गुण २३ गते मंगलबार सम्पन्न भएको छ । तीनकुने काठमाण्डौस्थित कम्पनीको कार्यालय “प्रभु कम्प्लेक्स” मा सम्पन्न भएको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८/०७९ को आर्थिक प्रतिवेदन पारित गर्नुका साथै कम्पनीले प्रस्ताव गरेको ६.७० प्रतिशत बोनश शेयर तथा बोनश शेयरमा लाग्ने कर बापत ०.३५ प्रतिशत नगद लाभांश गरि जम्मा ७.०५ प्रतिशत लाभांश साधारण सभाबाट स्वीकृत भएको छ ।

 

बार्षिक साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुहुंदै कम्पनीका अध्यक्ष कुसुम लामाज्यूले कम्पनीले व्यवसाय बृद्धिसंगै संस्थागत सुशासन, आन्तरीक नियन्त्रण प्रणाली सुदृढ गर्दै समग्र रुपमा बीमा क्षेत्रमा देखिने जोखिमलाई व्यवस्थापन तथा न्यूनीकरण गर्ने तर्फ बिशेष ध्यान दिई कार्य अगाडी बढाईरहेको बताउँदै कम्पनीले सामाजिक उत्तरदायीत्व अन्तर्गत समाजसंग प्रत्यक्ष जोडिएर काम गर्ने र समुदायहरुको दिगो आर्थिक र सामाजिक विकासको प्रवद्र्धन तथा उत्थानमा अग्रसर हुने नितिलाई प्राथमिकतामा राखी बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको र यसलाई भविश्यमा पनि निरन्तरता दिइने बताउनु भयो ।

 

ग्राहकको सन्तुष्टी नै कम्पनीको सफलता हो भन्ने कुरालाई मनन् गर्दै बीमा सेवालाई सबल तथा आधुनिकीकरण बनाउन Digital Transformation योजना लागू गरि कार्ययोजना अगाडि बढाईएको बताउँदै सूचना प्रविधि नै आधुनिक बीमाको आधारशिला तथा ग्राहक वर्गहरुको सन्तुष्टिको मुख्य आधार भएको कुरालाई मनन् गर्दै सूचना प्रविधिलाई सबल र विश्वसनीय बनाउनका लागि आवश्यक नीति तर्जुमा गरि सूचना प्रविधिको जोखिम व्यवस्थापन र कर्मचारी व्यवस्थापनलाई सुदृढिकरण गर्दै बीमाका नयाँ योजनाहरू तर्जुमा गरी कृषि तथा पिछडिएको क्षेत्रलाई प्राथमिकतामा राखी शाखा बिस्तार गर्ने निति लिएको बताउनु भयो ।

 

बार्षिक साधारण सभामा बिभिन्न शेयरधनीहरुले आफ्नो मन्तब्य, जिज्ञासा र सुझावहरु प्रस्तुत गर्नुहुंदै कम्पनीको समग्र प्रगती सन्तोषजनक रहेको बताउनु भयो । वार्षिक साधारण सभामा पेश भएका सामान्य तथा बिशेष प्रस्तावहरु अत्याधिक बहुमतले पारित गरियो ।