२०८१ बैशाख ११ , मंगलबार

उछृंखल, अव्यवहारिक गतिविधिले बैंकिङ क्षेत्र त्रसित: सिबिफिन

सुनाखरी न्युज/ काठमाडौं । कोभिड–१९ को महामारी, रुस–युक्रेन युद्ध र अन्य विविध विश्व परिघटनाहरुको कारण उत्पादन, माग तथा आपूर्ति श्रृंखला विथोलिदा अहिले विश्व अर्थतन्त्रमै शिथिलता छाएको छ । आन्तरिक तथा बाह्य कारणबाट नेपालको अर्थतन्त्र समेत प्रभावित बनिरहदा साधारण मानिसदेखि राजनीतिज्ञ, नीति निर्माता, अर्थशास्त्री र समग्र लगानीकर्ताहरूमा समेत चासो र चिन्ता बढाएकोे छ ।

 

यस्तो विषम् परिस्थितिलाई सहज बनाउँदै अर्थतन्त्रलाई लयमा फर्काउने संभावित उपायहरुकाबारेमा नेपाल सरकार, मातहतका नियामक निकाय र सरोकारवाला सम्पूर्ण पक्षहरु सचेत र जिम्मेवार हुँदै आर्थिक सुधारको मार्गमा सामूहिकरुपमा लागि पर्नुपर्ने अहिलेको प्रमुख आवश्यकता बनेको छ । देशको अर्थतन्त्रको मेरुदण्डकोरुपमा रहेको बैंकिङ क्षेत्रले आम जीवनस्तर, आर्थिक÷सामाजिक क्षेत्रको विकास एवं विस्तार, रुपान्तरण र समग्रतामा देशको दिगो आर्थिक विकासमा योगदान पुर्याएको छ । नेपालमा संचालित बैंक तथा वित्तीय संस्थाहरुले प्रत्यक्ष÷परोक्षरुपमा लाखौको संख्यामा रोजगारीका अवसरहरुको सृजना, अरबौं रकम राजस्व परिचालनसहित संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै मोफसलदेखि दुरदराजसम्म आफ्ना शाखा कार्यालयमार्फत सामाजिक–आर्थिक रुपान्तरणका लागि अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।

 

आफ्नै देशभित्र मौद्रिक÷बौद्धिक लगानी गरी÷गराइ राष्ट्रको आर्थिक समृद्धिमा योगदानसहित दशकौंदेखि बैंकिङ क्षेत्रको विकासमा जीवन अर्पेका र बैंकिङ क्षेत्रबाटै सुनौलो भविष्यको जीवनरेखा कोरिरहेका लाखौ संस्थापक÷सर्वसाधारण लगानीकर्ता, प्रतिबद्ध कर्मचारीहरुको योगदानलाई नजरअन्दाज गरिन नहुने बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को भनाई छ । ‘अतिविकसित देशदेखि विकासोन्मूख अधिकांश देशहरुले तरलता, ब्याजदर र मुद्रास्फिती जस्ता चुनौती भोगिरहेको तथ्य जगजाहेरै छ । राष्ट्रिय÷अन्तर्राष्ट्रिय बजारको अवस्था, तरलताको पर्याप्तता, कर्जाको माग तथा आपूर्ति जस्ता विषयहरुले ब्याजदर निर्धारण हुने विषय पनि घाम जत्तिकै छर्लङ्ग छ’, सिबिफिनले जनारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘स्वयं नेपाल सरकार, आम उद्यम÷व्यवसाय र सर्वसाधारण समेतले अनपेक्षितरुपमा भोगिरहेका समस्याहरुको उचित समाधानका लागि सबै जना एकजुट भएर लाग्नुपर्ने वर्तमान जटिल अवस्थामा ब्याजदरको विषयलाई अतिरञ्जित बनाउँदै विगत केही समयदेखि बैंक तथा वित्तीय संस्थाहरुलाई मात्रै निशाना बनाएर ब्याज मात्र होइन, साँवा समेत नतिर्ने धम्कीसहित विभिन्न स्थानमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुमाथि आक्रमण तथा लुटपाट गर्ने जस्ता नियोजित घटनाले बैंकिङ क्षेत्र त्रसित र तरंगित बनेको छ ।’

 

बैंकिङ सेवा जस्तो अत्यन्तै संवेदनशील क्षेत्रमाथि भएका यस्ता उछृंखल, अव्यवहारिक, अराजक गतिविधि र निमुखा कर्मचारीमाथि आक्रमण गर्ने जस्ता निन्दनीय कार्यहरु सदाका लागि रोक्नका लागि कडा निर्देशन जारी गर्दै कानुन हातमा लिएर आफ्ना अभिष्ट पुरा गर्न खोज्नेहरुलाई तत्काल कठघरामा उभ्याइ आवश्यक कारवाही गर्न सिबिफिनको माग रहेको छ । देशको अर्थव्यवस्था नै धरासायी बनाउने गरी रचिएका यस्ता अवाञ्छित क्रियाकलापहरु यसरी नै अगाडि बढ्ने हो भने भोलि स्वयं राज्य र आम जनताले व्यहोर्नुपर्ने क्षति आंकलन नै गर्न नसकिने हुने हुँदा यसप्रति सचेत रहन सिबिफिनले जनाएको छ ।