२०८१ बैशाख ११ , मंगलबार

कुकुरमा ‘पार्वो भाइरस’ सङ्क्रमण देखियो

सुनाखरी न्युज/ काठमाडौं । जिल्लामा पालिएका कुकुरमा ‘पार्वो भाइरस’को सङ्क्रमण देखिएको छ । भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चितवनका अनुसार जिल्लाका विभिन्न स्थानमा पालिएका कुकुरमा सो भाइरसको सङ्क्रमण देखिएको हो ।

 

केन्द्रका सूचना अधिकारी डा प्रभात न्यौपानेले अस्पतालमा उपचारका लागि ल्याइएका कुकुरमा ३० देखि ४० प्रतिशतमा भाइरस देखिएको बताउनुभयो । मौसममा आएको परिवर्तनसँगै यो समस्या आएको हो । घरपालुवा कुकुर उपचारको लागि ल्याउने गरिए पनि सडकमा रहेका भुस्याहा कुकुरको उपचारमा भने कसैले ध्यान नदिएको उहाँले बताउनुभयो । यो रोग घरपालुवासहित छाडा छोडिएका कुकुरमा देखिने गरेको उहाँको भनाइ छ । पार्वोको सङ्क्रमण भएका कुकुरमा खानमन नलाग्ने, पखाला लाग्ने, रगत मासी पर्ने जस्ता लक्षण देखापर्ने उहाँले बताउनुभयो ।

 

सामान्यतया पार्वो खतरनाक समस्या नभए पनि उपचार नभएमा कुकुरको मृत्यु हुने गर्दछ । कुकुरलाई नियमित खोप नलगाउँदा यस्तो समस्या देखापर्ने गर्दछ । कुकुरलाई डिएचएलपिपी नामक खोप नियमित पाँच वटा दिएमा यस्ता सङ्क्रमण नहुने न्यौपानेले बताउनुभयो । अधिकांश घरपालुवा कुकुरमा नियमित खोप लगाउने अभ्यास नभएकाले यस्तो खालको समस्या देखिने गरेको उहाँले जानकारी दिनुभयो । कुकुरलाई जन्मिएको छ देखि आठ हप्तामा पार्वो विरुद्धको नियमित खोप लगाउनुपर्ने चिकित्सकको सुझाव छ । रासस