२०८१ बैशाख ७ , शुक्रवार

“बैंक तथा वित्तीय क्षेत्रका समस्या सुल्झाउन पहल गरिरहेका छौं”

सुनाखरी न्युज/ काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहालले अराजक तत्वहरूले वित्तीय अराजकता निम्त्याउने कोसिस गरिरहेको बताएका छन् । उनले यस्ता परिघटनाहरूलाई आफूले गम्भीर रुपमा लिएको र बैंक तथा वित्तीय क्षेत्रका समस्या सुल्झाउन पहल गरिरहेको उल्लेख गरे ।

बैंक तथा वित्तीय क्षेत्रका समस्याको पहिचान र समाधानसम्बन्धी बैठकमा  आइतबार दिउँसो सिंहदरबारमा  प्रधानमन्त्रीले बैंकको ब्याज, लघुवित्तका समस्या, व्यवसायीहरूको चासो र वित्तीय अराजकता निम्त्याउन खोज्ने प्रवृत्ति लगायतका विषयमा गभर्नर बैंक तथा वित्तीय संस्था र निजी क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गरेका छन् ।

 

‘बैंकको ब्याजदरलाई लिएर व्यवसायीका गुनासो देखिएको छ । लघुवित्तका समस्याबारे दिनदिनैजसो समाचार प्रकाशित भइरहेका छन्’ बैठकमा प्रधानमन्त्रीले भने, ‘व्यवसायीहरूले विभिन्न ढंगले चासो र चिन्ता राखेका छन् । यही मौकामा अराजक तत्वले वित्तीय अराजकता निम्त्याउने कोसिस गरिरहेका छन् । यी सबै परिघटनालाई मैले गम्भीर रूपमा लिएको छु।’

अर्थतन्त्र अप्ठ्यारो परिस्थितिमै रहेको उल्लेख गर्दै उनले आफू प्रधानमन्त्रीमा निर्वाचित भएपश्चात् मन्त्रिपरिषदको पहिलो बैठकमा नै अर्थतन्त्रका समस्या समाधानका निम्ति निजी र सार्वजनिक क्षेत्रको सहकार्यमा अगाडि बढ्ने निर्णय गरिएको स्मरण गरे ।

बैठकमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वर्तमान अर्थतन्त्रको अवस्थाबारे संक्षिप्त विषय राख्दै अर्थतन्त्रका सूचकहरू सकारात्मक दिशातर्फ अग्रसर भइरहेको बताए । बैठकमा निजी क्षेत्रका प्रतिनिधिहरू र बैंकिङ क्षेत्रका प्रतिनिधिहरूले निजी क्षेत्रको अवस्थाको चर्चा गर्दै बैंक तथा लघुवित्त क्षेत्रमा देखिएका समस्या समाधानका निम्ति सरकारलाई विभिन्न सुझाव प्रस्तुत गरे । छलफलमा नेपाल सरकारका मुख्यसचिव, अर्थमन्त्रालयका सचिव, उद्योग वाणिज्य महासंघका पदाधिकारीहरू, विभिन्न व्यवसायिक संगठनका प्रतिनिधिहरू, बैंकर एसोसिएसन लगायत वित्तीय क्षेत्रका प्रतिनिधिहरू उपस्थित थिए ।