२०८१ बैशाख ४ , मंगलबार

२००० वर्ष पुरानो काइँयो भेटियो

सुनाखरी न्युज/ काठमाडौं । प्राचीन काइँयो साधरणतया काठको वा धातुको हुने गर्दथ्यो । तर अब पुरातत्वविद्ले एउटा यस्तो काइँयो भेटेका छन् जसबारे थाहा पाउँदा तपाईँलाई सायद अचम्म लाग्ला । यो काइँयोलाई मानिसको खप्परबाट बनाइएको पुरातत्त्वविद् बताउँछन् । यो प्राचीन काइँयो २००० वर्ष पुरानो हो । यो बेलायतको केम्ब्रिजशायरस्थित हिल गाउँमा भेटिएको हो ।

 

बार हिल गाउँमा तीन वर्षसम्म उत्खननको काम चलिरहेको थियो जुन सन् २०१८ मा समाप्त भयो । त्यति बेला थुप्रै प्राचीन वस्तु भेटिए । बेलायतमा फलामे युग लगभग ७५० इसा पूर्वदेखि ४३ इस्वी सम्वतसम्म रह्यो । त्यति बेला बेलायतमा पहाडी किल्ला र महलहरू निर्माण गर्ने जनजातिले भरिएको थियो । अन्वेषकहरूले उक्त काइँयो ४०० – १०० इसा पूर्वको भएको अनुमान गर्छन् । त्यति बेला बार हिलमा सानो बस्ती थियो । रोमनले ४३ इस्वी संवतमा आक्रमण गरेपछि फलामे युगको अन्त्य भयो । यो काइँयो २ इन्च लामो छ र यसमा करिब एक दर्जन दाँत छन् । यसलाई म्युजियम अफ आर्कियोलोजीमा राखिएको छ । पुरातत्वविद्ले यसलाई ‘बार हिल कम्ब’ नाम दिएका छन् ।बार हिल गाउँमा भएको उत्खननमा करिब २.८० लाख प्राचीन वस्तु भेटिएका छन् । यसको अहिले पनि अनुसन्धान भइरहेको छ । यो काइँयो के लागि लागि प्रयोग हुन्थ्यो भन्ने बारे पुरातत्वविद्सँग सटिक जानकारी उपलब्ध छैन । यसको प्रयोग कपाल कोर्नका लागि गरिन्थ्यो वा सजावटको उद्देश्यले यसलाई बनाइएको थियो वा यसको बीचमा एउटा गोलो प्वाल भएका कारण यसलाई घाँटीमा बुटी झैँ लगाइन्थ्यो भनेर यकिनका साथ भन्न सकिएको छैन ।

 

यो काइँयोलाई देखेपछि पुरातत्वविद्ले फलामे युगमा मानिसहरूले शरीरको अवशेषलाई कसरी प्रयोग गर्दथे भनेर अन्दाज लगाएका छन् । यसमा केही परम्परा पनि हुनसक्छ । प्राचीन वस्तुका जानकार माइकल मार्सल भन्छन्, ‘बार हिल काइँयो हेर्दा यस्तो लाग्छ कि यसको फलामे युगमा धेरै महत्त्वपूर्ण स्थान थियो । यो स्थानीय समुदाय बीच शक्तिशाली वस्तु मानिन्थ्यो होला । माइकलका अनुसार यो काइँयोका कारण मानिसहरू आफ्नो दिवङ्गत आफन्तको याद गर्दथे होला । अथवा, दुष्ट आत्माबाट बचाउनका लागि यसलाई घाँटीमा बुटीजस्तै बाँध्ने गर्दथे होलान् । यसले कपाल नै कोर्ने पनि गर्दथे होलान् । क्याम्ब्रिजशायरमा यस्तै खालका अन्य दुई वस्तु पनि भेटिएका थिए । सन् १९७० मा र २००० मा । दुवै काइँयो जस्तो नै देखिन्थे । फलामे युगको परम्परा बुझ्न सहज छैन । माइकल भन्छन्, ‘सबै पुरातत्वविद्ले पुरानो वस्तुको अनुसन्धान गरेपछि यसको कसरी प्रयोग हुन्थ्यो होला भनेर अनुमान लगाउने गर्छन् ।’एजेन्सी