सुनाखरी न्युज/ काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण माओवादी घटकहरुलाई एकताबद्ध हुन आग्रह गरेका छन् ।
आज (आइतबार) शहीद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेशनले काठमाडौंमा आयोजना गरेको ‘जनयुद्ध, शहीद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रियामा बोल्दै उनले विभाजित माओवादी पार्टीका विभिन्न घटकहरुलाई एकताबद्ध हुन आग्रह गरेका हुन् । ‘समय आएको छ । फेरि हामी माओवादीहरु सबै एक ठाउँमा केन्द्रित हुन जरुरी छ । मैले त्यो अपील गर्दै आएको छु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘माओवादी आन्दोलन एउटा ठूलो प्रवाहको रुपमा अगाडी आयो । शान्ति प्रक्रियापछि यो विभिन्न भंगालाहरुतिर विभाजित जस्तो भयो । अब समय फेरि बग्दै जाँदा ती सबै भंगालाहरु एक ठाउँमा मिसिएर एउटा विशाल सागरतिर जाने समय आयो ।’
विगतमा विभाजित भएर सबैले आ–आफ्ना अनुभवहरु समेटेको भन्दै एक–अर्काका अनुभवहरुलाई आफ्नै अनुभवको रुपमा लिएर एकताबद्ध हुनुपर्ने उनको भनाइ थियो । उनले भने, ‘हामी सबैले सबैका अनुभवलाई, मैले भन्ने गरेको छु अहिले यहाँ बाबुरामजीले हासिल गरेका अनुभवहरु, विप्लवजीले हासिल गरेका अनुभवहरु, धर्मेन्द्रजीले हासिल गर्दै हुनुहुन्छ । किरणजीले हासिल गरेका अनुभवहरु यी सबैलाई हाम्रा अनुभव भनौँ । त्यसमा भएका तीतामीठा, राम्रा, नराम्रा ति सबै हाम्रै हुन् भनेर हामीले आत्मसात् गर्न सकेको दिन हामी यति बलियो हुन्छौँ । यति शक्तिशालि हुन्छौँ कि हामीलाई कसैले पनि कमजोर साबित गर्नसक्ने छैन । मैले विप्लवजीसँग कुरा गर्दा बडो गम्भिरताका साथ भनेको छु– हामी तपाईले हासिल गरेका सफलता, या तपाईले अनुभव गरेका तीता, मीठा ति सबै मेरा पनि हुन् ।’
डा बाबुराम भट्टराई र आफू फेरि एकै ठाउँ आइसेको र कुरा गर्दै धेरै अगाडि बढिरहेको पनि उनले बताए । ‘धर्मेन्द्रजीसँग पनि कुरा भइराखेको छ । हाम्रा सबैका साझा अनुभव, यसलाई तैँले र मैले भन्ने ढंगले नहेरीकन हामी आन्दोलनको प्रवाहको क्रममा, विकासको क्रममा विभिन्न भंगालामा गएपनि अब फेरि एक ठाउँमा केन्द्रित हुने समय आयो भनेर महशुस गर्यौं भने सबै अनुभवलाई आफ्नो अनुभवको रुपमा, सबै सहिदलाई जनताका शहीदको रुपमा सम्मान गर्ने उदात्त विचार र भावनाबाट अगाडी बढ्यौँ भने हाम्रो एकतालाई कसैले नि रोक्न सक्दैन भन्ने मेरो बुझाइ छ,’ उनले भने ।
प्रधानमन्त्री दाहालले आफूमाथि जनयुद्धका कमाण्डरको हैसियतमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा विभिन्न दबाब र घेराबन्दी भइरहेको र आफू लडिरहेको समेत बताए । उनले मोहन वैद्य किरण, डा. बाबुराम भट्टराई, नेत्रविक्रम चन्द र धर्मेन्द्र बास्तोलाहरु पनि विभिन्न घेराबन्दीका विरुद्ध लडिरहेको आफूले देखेको भन्दै अब सबै मिलेर एक भएर लड्नुपर्ने बताउनु भयो । आफुहरु एक हुनु नै शहीद र बेपत्ता योद्धाहरुप्रति इमान्दार भएको ठहरिनु हुने उहाँको भनाई छ । उनले आफू तेस्रो पटक प्रधानमन्त्री भएसँगै जनयुद्धका शहीदहरुको नाम राजपत्रमा प्रकाशित गर्ने लगायतका निर्णयहरु गराउन सफल भएको समेत बताए ।