२०८१ बैशाख १४ , शुक्रवार

यात्रुबाट बढी भाडा असुल्ने ५ जना पक्राउ

सुनाखरी न्युज/ काठमाडौं । निर्धारित भन्दाबढी भाडा यात्रुबाट असुल्ने ५ जनालाई शनिबार बिहान काठमाडौँको बल्खुबाट ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा सुविधा काउण्टरका कामदार काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका ६ का २४ वर्षीय दुर्गा तामाङ, कीर्तिपुर बस्ने मकवानपुरको इन्द्रसरोवर गाउँपालिका १ का २६ वर्षीय सुजन हुमागाईं, शिखरापुर काउण्टरका कामदार काठमाडौँको चन्द्रागिरी नगरपालिका ९ का ३६ वर्षीय सुनिल नगरकोटी, गढीमाई सुमो सेवाबाट सञ्चालित सुमोका चालक बाराको सिम्रौनगढ नगरपालिका ८ का २४ वर्षीय ओजिर अन्सारी र लालिगुराँस काउण्टरबाट सञ्चालित सुमोका चालक रौतहटको चन्द्रपुर ४ का २४ वर्षीय कृष्ण बहादुर योञ्जन रहेका छन् ।

 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पिडित सहायता इकाइबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरीले आज बिहानै बल्खु क्षेत्रमा अनुगमन गर्दा तोकिएको भन्दाबढी भाडा असुल गरेको पाएपछि उनीहरूलाई पक्राउ गरिएको हो । चाडपर्व ( होली ) को अवसर पारेर काठमाडौंबाट बाहिरी जिल्ला जाने यात्रुहरूसँग चालक तथा काउण्टरबाट निर्धारित भन्दाबढी भाडा लिने गरेको जनगुनासो आए पश्चात यस कार्यालयबाट सादा पोशाकमा समेत जनशक्ति परिचालित हुँदै आएको छ । निर्धारण गरिएको भन्दाबढी असुल गरेको भाडा यात्रुलाई फिर्ता गरिएको र नियन्त्रणमा आएका पाँचै जनालाई आवश्यक कार्वाहीका लागि प्रहरी वृत्त कालीमाटीमा बुझाइएको छ ।