२०८१ बैशाख १३ , बिहिवार

निर्वाचन व्यवस्थापनसँग सम्बन्धित क्रियाकलापहरूमा स्थानीय तहको समन्वय र सहकार्य आवश्यक : प्रमुख निर्वाचन आयुक्त थपलिया

सुनाखरी न्युज/ काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आयोगबाट गरिने मतदाता नामावली संकलन तथा अद्यावधिक, मतदान स्थल र मतदान केन्द्रको व्यवस्थापन तथा निर्वाचन शिक्षा जस्ता महत्वपूर्ण निर्वाचन व्यवस्थापनसँग सम्बन्धित क्रियाकलापहरूमा स्थानीय तहको समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ । धनुषा जिल्लाको जनकपुरधाम उप महानगर पालिकामा निर्वाचन सम्पर्क व्यक्तिहरूका लागि अभिमुखीकरण तथा क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख आयुक्त थपलियाले स्थानीय तहमा कार्यरत निर्वाचन सम्पर्क व्यक्तिहरूको क्षमता अभिवृद्धि गर्न प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

 

निर्वाचनसँग सम्बन्धित गतिविधिहरूलाई आममतदाता समक्ष पुर्‍याउन स्थानीय तहको महत्वपूर्ण भूमिका हुने बताउनुहुँदै उहाँले मृत्यु भएका व्यक्तिको विवरण स्थानीय तहले मात्र उपलब्ध गराउन सक्ने भएकाले आयोगलाई हरेक स्थानीय तहले मृत्यु भएकाहरूको विवरण नियमितरूपमा उपलब्ध गराइ दिन आग्रह गर्नुभयो । निर्वाचनको बारेमा जानकारीमूलक सन्देश एवं सूचनाहरू नियमित प्रचारप्रसार गर्ने कार्यमा पनि स्थानीय तहहरूले अगुवाई लिनुपर्ने प्रमुख आयुक्त थपलियाले बताउनुभयो ।

 

दुई समूहमा सञ्चालन हुने उक्त प्रशिक्षण कार्यक्रममा धनुषा, सिराहा, सप्तरी, सर्लाही र महोत्तरी जिल्लाका स्थानीय तहमा कार्यरत ८८ जना निर्वाचन सम्पर्क व्यक्तिहरूको सहभागिता रहेको छ । निर्वाचन आयोगले स्थानीय तहसँग समन्वय र सहकार्य गर्दै आफ्ना क्रियाकलापहरू निरन्तरूपमा अगाडि बढाउन यो प्रशिक्षण महत्वपूर्ण रहेको छ । निर्वाचनका विविध विषयमा हुने यस प्रशिक्षण कार्यक्रमबाट निर्वाचन सम्पर्क व्यक्तिहरु निर्वाचन व्यवस्थापन सम्बन्धी प्रशिक्षित हुँदै प्रशिक्षणका सिकाइहरू स्थानीय तहका वडा तहसम्म सम्प्रेषण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । निर्वाचन व्यवस्थापन सम्बन्धी कार्य एक दिनको काममात्र नभई यो निरन्तररूपमा सञ्चालन गरिने प्रक्रिया हो । स्थानीय तहले मतदाता शिक्षा, मतदाता नामावली संकलन, अद्यावधिक, मतदान स्थलहरुको भौतिक सुधारहरुको लागि समन्वय एवम् सहकार्य आवश्यक रहेको प्रमुख आयुक्त थपलियाले बताउनुभयो ।

 

प्रशिक्षण कार्यक्रममा धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री काशीराज दाहाल,आयोगका सहसचिव श्री यज्ञप्रसाद भट्टराई, सहसचिव श्री तुलसीबहादुर श्रेष्ठ,जनकपुरधाम उप म.न.पाका प्रमुख प्रशासकीय अधिकृत श्री रत्नेश शशी उपसचिव श्री सूर्यप्रसाद अर्याल, मधेश प्रदेशका प्रदेश निर्वाचन अधिकारी श्री श्रीधर पन्थी, प्रशिक्षण कार्यक्रमका सहजर्ता शाखा अधिकृत श्री अच्यूत दाहाल, युएनडीपी इएसपीका प्रतिनिधि श्री विष्णु नेपाली तथा अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो । उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएपश्चात मधेश प्रदेशका ८ जिल्लाका १३६ स्थानीय तहमा कार्यरत १३६ जना निर्वाचन सम्पर्क व्यक्तिहरू प्रशिक्षित हुनेछन ।