२०८१ बैशाख ७ , शुक्रवार

नेपाल आउने पर्यटकले गर्ने औशत खर्चकाे बारेमा अध्ययन सुरू

सुनाखरी न्युज/ काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले गर्ने औशत खर्चकाे बारेमा अध्ययन सुरु गरेको छ ।

 

राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान कति रहेको छ भन्ने पत्ता लगाउन विदेशी पर्यटकले नेपालमा गर्ने दैनिक औसत खर्चको विवरण लिन सुरु गरिएको बोर्डका निर्देशक मणिराज लामिछानेले बताउनुभयो । डिजिटल पेमेन्टमार्फत पर्यटकले गर्ने खर्चको तथ्यांक पत्ता लागे पनि नेपाल बसाइका क्रममा पर्यटकले गर्ने नगद खर्च तथ्यांकमा नसमेटिने भएकाले यस अध्ययनले पर्यटकले गर्ने खर्चको थप प्रस्ट तथ्यांक निकाल्न सहयोग पुग्ने उहाँको भनाइ छ ।

 

अध्ययनका लागि ४० दिनको समयावधि तोकिएको छ । सो अध्ययनका लागि पर्यटन बोर्डका कर्मचारी र बोर्डको समन्वयमा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका विद्यार्थीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १० वटा प्रश्नको फाराम भरेर दैनिक २ हजार नमुना संकलन गरिने उहाँले बताउनुभयो । सन् २०२१ मा एक विदेशी पर्यटकले दैनिक औसत ४८ अमेरिकी डलर खर्च गरेको पाइएको र सन् २०२२ मा पनि सोही हाराहारीमा पर्यटकले खर्च गरेको सरकारी तथ्यांक बोर्डसँग छ ।

 

आर्थिक सर्वेक्षण २०७८/०७९ अनुसार सन् २०२१ मा प्रतिपर्यटकको औशत बसाइ अवधि १५ दशमलव ५ दिन र प्रतिदिन प्रतिपर्यटक खर्च ४८ अमेरिकी डलर रहेको देखिन्छ । उक्त खर्च सन् २०२० मा औशतमा खर्च प्रतिपर्यटक प्रतिदिन ६५ अमेरिकी डलर र बसाइ अवधि १५ दशमलव १ दिन पुगेको थियो । सन् २०२१ मा बसाइ अवधि वृद्धि भएर १५ दशमलव ५ दिन पुगेको छ । तर पर्यटकले गर्ने दैनिक खर्च भने ६५ अमेरिकी डलरबाट ४८ डलरमा सीमित छ । जुन सन् २०२० को तुलनामा २६.१ प्रतिशत कम हो । सन् २०२१ मा नेपाल भ्रमणमा आएका विदेशी पर्यटकबाट १३ अर्ब ५० करोड ११ लाख रुपैयाँ बराबरको वैदेशिक मुद्रा आर्जन भएको देखिन्छ ।

 

सन् २०२१ मा नेपाल भित्रिएका पर्यटक मध्ये ६६ दशमलव ८ प्रतिशत बिदा तथा मनोरञ्जन, १० दशमलव ३ प्रतिशत पर्वतारोहण-साहसिक यात्रा-पदयात्रा, ७ दशमलव ४ प्रतिशत तीर्थयात्रा र १५ दशमलव ५ प्रतिशतले अन्य विभिन्न उद्देश्यले नेपाल भ्रमण गरेका थिए । आरोहण र सिकार गर्ने गरी आउने पर्यटक बढी खर्चालु पर्यटकमा गनिन्छन् ।