२०८० चैत्र १५ , बिहिवार

अफ्रिकी देश युगाण्डाकी महिलालाई वेश्यावृत्तिमा लगाउने महिला पक्राउ

सुनाखरी न्युज/ काठमाडौं । पर्यटक भिसामा नेपाल आई ठमेलस्थित होटलमा बस्दै आएकी युगाण्डाकी महिलालाई वेश्यावृत्तीमा लगाएको अभियोगमा काठमाडौं महानगरपालिका-२९ ठमेलस्थित होटेल जर्नी होममा बस्ने युगाण्डा मासाका घर भएकी २५ वर्षीया NATASHA भनिने IMMACULATE NABASUMBA लाई प्रहरीले पक्राउ गरेको छ ।

उनले नेपालमा क्लीनर, वेट्रेस लगायतको काममा मासिक ५ सय अमेरिकी डलर कमाई हुने तथा नेपाल आउने जाने हवाई टिकट, भिषालगायतको खर्च समेत कमाएर तिर्ने शर्तमा पीडितलाई नेपालमा बोलाई विभिन्न व्यक्तिसँग शारीरिक सम्पर्क गर्नुपर्ने, नत्र निज र पीडितको परिवारलाई मारीदिने सम्मको धम्की दिँदै शारीरिक सम्पर्क गर्न बाध्य पारेको, पीडित महिला बिरामी भई काम गर्न नसक्ने अवस्था भएपछि होटलबाट निकालेको र युगाण्डा फर्कन लागेकी पीडितलाई टिकट रद्द गरी दिएको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

अभियुक्त आफै यौन व्यवसायमा संलग्न हुँदै आएको, पीडित लगायत अन्य युगाण्डाका महिलाहरुलाई समेत नेपाल झिकाई यौन कार्यमा लगाउने गरेको, ठमेलका बिभिन्न नाईट क्लवहरुमा गई ग्राहकहरु खोजी ल्याउने र पीडितलाई बेश्यावृत्तिमा लगाई ग्राहकबाट प्राप्त रकम समेत आफैले लिने गरेको अनुसन्धानबाट खुल्न आएको छ । उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।