२०८० चैत्र १५ , बिहिवार

मर्जरपछि सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सको एकीकृत कारोबार सुरू

सुनाखरी न्युज/ काठमाडौं । सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सको मर्जरपश्चात बिहीबारदेखि एकीकृत कारोबार सुरु भएको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु भएको हो । नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले एक समारोहका बीच एकीकृत कारोबारको सुरुवात गरे ।

मर्जरपछि बनेको नयाँ कम्पनीको अध्यक्षमा सुरेशलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृतमा वीरेन्द्रबहादुर वैदवार क्षेत्री नियूक्त भएका छन् । दुबै बीमा कम्पनी १ बराबर १ को समान सेयर अनुपातमा एक आपसमा मर्जर भएका हुन् । मर्जर भए पश्चात् बन्ने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ८० करोड भन्दा बढी हुने छ भने बीमा कोषमा २ अर्ब ३४ करोड भन्दा बढी रहेको छ ।

 

कम्पनीका अनुसार मर्जर पश्चात कुल सम्पत्ति १० अर्ब २५ करोड छ भने बजार पुँजीकरण १८ अर्ब २३ करोड पुगेको छ । कम्पनीद्वारा जारी गरिएको बीमा लेख संख्या ४ लाख १७ हजार १८२ रहेको छ । कम्पनीले १२५ शाखा सञ्जाल मार्फत् सेवा प्रदान गर्ने जनाएको छ । प्रिमियर इन्स्योरेन्स कम्पनी २०५१ वैशाख २९ बाट सञ्चालनमा आएको हो भने सिद्धार्थ इन्स्योरेन्स २०६३ वैशाख १ बाट सञ्चालनमा आएको हो ।