२०८१ बैशाख २२ , शनिवार

बढेर आयो एलपी ग्यासको मूल्य

सुनाखरी न्युज/ काठमाडौं । इण्डियन आयल कर्पोरेशन (आईओसी)ले एलपीजी बाहेक सबै पेट्रोलियम पदार्थको मूल्य घटाएर नयाँ मूल्यसूची पठाएको छ । आईओसीले नेपाल आयल निगमलाई प्रत्येक १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउने गर्छ । यही व्यवस्थाअन्तर्गत आज १ तारिखमा नयाँ मूल्यसूची आएको हो ।

 

नयाँ मूल्य सूची अनुसार खाना पकाउने एलपीजी ग्यासको मूल्य ३३९ रुपैयाँ प्रतिलिसिण्डर बढेर आएको छ । यस सँगै, एलपीजी ग्यासको खरिद लागत प्रतिसिलिण्डर २ हजार चार सय ३५ रुपैयाँ पुगेको छ । तर, निगमले प्रतिसिलिण्डर १८ सय रुपैयाँमा एलपीजी ग्यास बिक्री गर्दै आएको छ । यसबाहेक अन्य सबै पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ २१ पैसा घटेको छ । यस्तै, डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ पाँच पैसा घटेको छ भने हवाई इन्धनको मूल्य ७ रुपैयाँ प्रतिलिटर र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ ४० पैसा घटेर आएको छ ।

 

एलपीजी ग्यासबोहक सबै पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा निगमलाई १५ दिनमा ४० करोड रुपैयाँ नाफा हुनेछ भने एलपीजी ग्यासको घाटा मात्रै १५ दिनमा ९३ करोड रुपैयाँ हुने निगमले जनाएको छ । यो घाटालाई अन्य पेट्रोलियम पदार्थको मूल्यले समायोजन गरेपछि दुई हप्तामा ४० करोड नाफा हुने जनाइएको छ ।