२०८० चैत्र १५ , बिहिवार

सन्दीप लामिछानेलाई आजै यूएई पठाउने क्यानको तयारी

सुनाखरी न्युज/ काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले आईसीसी विश्वकप लिग टू अन्तर्गत यूएईमा चलिरहेको त्रिकोणत्मक शृंखलाका बाँकी खेल खेल्नका लागि सन्दीप लामिछानेलाई पठाउने तयारी गरेको छ ।

 

यूएई र पपुवा न्युगिनीसम्मिलित शृंखला खेलिरहेका एक खेलाडी घाइते भएकाले उनको ठाउँमा सन्दीपलाई पठाउने तयारी गरिरहेको क्यानले जनाएको छ । सन्दीप टिमको अन्तिम १६ मा रहेको र अदालतले उनलाई विदेश जाने अनुमति पनि दिएका कारण उनलाई सिरिजका लागि यूएई पठाउन लागिएको हो ।

 

नाबालिग बलात्कारको आरोप लागेका सन्दीपलाई उच्च अदालतले धरौटीमा छाडे पनि विदेश जाने अनुमति दिएको थिएन । त्यसैले सन्दीप यूएई जान पाएका थिएनन् । तर सर्वोच्च अदालतले गत सोमबार उच्च अदालतको आदेश उल्ट्याउँदै सन्दीपलाई विदेश जान अनुमति दिएपछि क्यानले उनलाई यूएई पठाउन लागेको हो । नेपालले भोलि बिहीबार घरेलु टोली यूएईसँग र शुक्रबार पपुवा न्युगिनीसित खेल्दै छ ।