२०८१ बैशाख १४ , शुक्रवार

पूर्व राजा ज्ञानेन्द्रले दिएको वक्तव्य जनताको निरासा माथि ब्यापार गर्न खोज्ने दुस्साहस मात्र हो

किरण गिर । पहिलो कुरो, वक्तव्यमा “शाहबंशीय राजाहरूले सधैं लोक सम्मतिको आधारमा शासन गरेको” भनिएको छ। यो कथ्य ऐतिहासिक तथ्यहरू तथा राजनीतिक शास्त्रको “पिपुल्स विल” भन्ने अकाट्य मान्यतासंग किमार्थ मेल खादैन। शाह राजाहरूलाई जन प्रिय देखाउन राजा राम शाहका बारेमा पढाईएको किंवदन्तिहरूलाई अपवाद मान्ने हो भने राजनीतिक शास्त्रीय मान्यताका आधारमा आज पर्यन्तका राजाका शासनहरू सामन्ति, हुकुमी र निरंकुश प्रकारकै रहेको छ। यसलाई लोक सम्मति भन्न मिल्दैन।

 

ज्ञानेन्द्रले इतिहासको उप व्याख्या पस्किनु भएको हो। दोस्रो कुरा, बि.स. ०७ सालको क्रान्ति राजा र जनताको सहयोगबाट भएको हो भन्ने मान्यता नै गलत हो। आधारभूत रूपमा नेकाको नेतृत्वमा भएको शसस्त्र क्रांतिमा राजा त्रिभुवनको कुनै तथ्यात्मक सहयोग थिएन। राजाको दिल्ली पलायनबाट प्रकान्तरमा पुरक प्रकारको प्रभाव परेपनि त्यो क्रांतिको मूल पक्ष थिएन। बरू दिल्ली प्रवासका दौरान हैदरावाद हाउसमा राखिएका राजा र काठमांडूमा रहेका श्री ३ मोहन शम्सेरका बीच भारतले समझदारी गराएर नेका नेतृत्वको शसस्त्र क्रांतिको निर्णायक पक्षलाई कमजोर पार्नमा त्रिभुवनको भुमिका रह्यो। तेस्रो कुरा, पछिल्लो समयमा- दोस्रो जन आन्दोलनको परिणामको बेला “जनताले चाहेको हुनाले जनताको नासो (सत्ता) राजनीतिक दलहरूलाई सुम्पेको”-यो कुरो सम्पूर्ण रूपमा गलत हो।अवश्यंभावी रूपमा सत्ता खोसिने अवस्था, सडकमा रहेको आन्दोलनकारीबाट भवितव्य सजाय दिईने परिस्थिति तथा ज्ञानेन्द्र शाहको नेपालमा ठूलो व्यावसायिक स्वार्थका कारणले मुलुक मै बस्न पाउने इच्छाले सहज झै देखाउने गरी सत्ता छोडेको कुरालाई उनले लुकाउदै आएको कुरा हो। नयाँ कथ्य बनाउन खोजेको मात्र हो।

 

 

चौथो कुरा, अहिले मुलुकमा बेथिती छ-यो सत्य हो। परन्तु यसलाई समाप्त पार्ने कुनै योजना तथा शासकीय संरचना ज्ञानेन्द्रसंग छैन। फागुण ७ को वक्तव्यमा जुन “सहकार्य” को कुरा उठाईएको छ, तेसको मनशाय नै पुनर्स्थापित राजा सहितको संबैधानिक राजतन्त्र हो-यसलाई मुख्य धारका राजनीतिक पार्टीहरूले अस्वीकार गरिसकेको छ। नेपाली जनताले संबिधान सभाको जनादेश बमोजिम फालिएको तन्त्र हो । राप्रपा र रविन्द्र मिश्रहरूले हालको संसदीय संरचनामा बहुमत हासिल नगरूंजेल यसको के संभावना छैन । सहकार्य बर्तमान अस्तित्व संग मात्र गरिन्छ । राजतन्त्र अब नेपाल को इतिहास मात्र हो । संसारमा कहिपनी इतिहास संग सहकार्य गरिदै र हुदैन पनि । उनले आफु भित्र ठम्याएको शक्ति नै जनतामा रहेको निराशा हो। यही जनताको निरासा मा ब्यापार गर्न खोजेको देखिन्छ । यस अर्थमा ज्ञानेन्द्र र रवि लामिछानेको प्रेरणा, सोच र शक्ति एउटै हो। जनताको निरासालाई व्यापारिकरण गर्ने सोच हुन् । निरास जनता लाई भड्काएर धमिलो पानीमा माछा मार्ने दुस्साहस मात्रै हो पुर्ब राजा ज्ञानेन्द्रको बक्तब्य ।

 

ज्ञानेन्द्र शाहको वक्तव्य “न मच्चिने पिंगको सय झटका”मात्र हो। उनले सहकार्यका लागि दुरूत्साहित गरेको दल राप्रपा र यस्तै खाले हुन्। राप्रपाको प्राथमिकतामा पनि राजतन्त्र पर्दैन। उपप्रधानमन्त्री सहित शक्तिशाली मन्त्रालय लिएर भर्खरै बाहिरिएका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल संबिधानको सफत खाएर सितल निवासको पाहुना बनिसकेका छ्न । पुर्ब राजा ज्ञानेन्द्र ल्र , हेक्का राख्नु पर्ने कुरा के पनि हो भने यिनको चरित्र र व्यबहार यस्तै उपद्रवी रूपहरू देखिएमा ज्ञानेन्द्र शाहको नागार्जुन वन क्षेत्रमा सरकारले उपलब्ध गराएको सरकारी आवास समेत खोस्न भने सबै ठूला दलहरू बाध्य भएर एक हुनेछन् र हुनु पर्ने देखिन्छ । जनता , संबिधान र संघीय लोकतान्त्रिक गणतन्त्र विरुद्ध जाने एबं जनअधिकार खोस्ने हक र छुट नेपालमा अब कसैलाई पनि छैन ।

 

लेखक – नेपाली कांग्रेसका निबर्तमान केन्द्रीय सदस्य एबं महासमिति सदस्य हुन ।