२०८१ बैशाख १२ , बुधवार

बिदामा पनि खुल्ने पाँच सरकारी कार्यालय

सुनाखरी न्युज/ काठमाडौं । सरकारले सेवाग्राहीको बढी भीडभाड हुने सरकारी कार्यालय सार्वजनिक बिदाको दिन पनि खोल्ने भएको छ । हिजो बसेको क्याबिनेट बैठकले सेवाप्रवाहमुखी पाँच वटा कार्यालय शनिबार र अन्य सार्वजनिक बिदाका दिन पनि सुचारू गर्ने निर्णय गरेको हो ।

 

राहदानी विभाग, मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय, सरकारी अस्पताल र प्रहरी कार्यालयहरु अबदेखि बिदाको दिनमा पनि खुल्ला हुनेछन् । यी कार्यालयले बिदाको दिन पनि सेवाग्राहीलाई सेवा दिनेगरी तयार पारिएको तालिका क्याबिनेटले स्वीकृत गरेको हो ।

 

तत्काल निर्णय कार्यान्वयनको निम्ति कर्मचारीलाई सिफ्टमा काम लगाइने छ । सार्वजनिक बिदाको दिन काम गर्ने कर्मचारीले सट्टा बिदा पाउने व्यवस्था गरिएको छ । यो निर्णयले सेवाग्राहीलाई केही राहत पुग्ने अपेक्षा गरेको सरकारले क्रमशः अन्य सरकारी कार्यालयलाई पनि हप्तामा सातै दिन खोल्नेगरी आन्तरिक तयारी गरिरहेको छ ।