२०८१ बैशाख ७ , शुक्रवार

चीनको एक विश्वविद्यालयले ल्यायो टाढा रहेका प्रेमि-प्रेमीकाका लागि ‘किसिङ डिभाइस’

सुनाखरी न्युज/ काठमाडौं । चीनको चान्झोउस्थित एक विश्वविद्यालयले एउटा यस्तो उपकरण बनाएको छ जसले चिनियाँ सामाजिक सञ्जालमा हलचल मच्चाएको छ । उक्त विद्यालयले बनाएको ‘किसिङ डिभाइस’ नामक उपकरणले लामो दुरीका जोडीहरूलाई भर्चुअल घनिष्ठतामा जोड्दछ । टाढा टाढामा रहेका प्रेमी प्रेमिकाले ‘सिलिकन ओठ’ मा एकअर्कालाई चुम्बन गर्न सक्छन् ।

 

यस उपकरणलाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रियाहरू पनि आइरहेका छन् । केही प्रयोगकर्ताहरूले भने यसलाई हास्यास्पद भनेका छन्, केहीले ‘अभद्र र डरलाग्दो’ भनेका छन् भने केहीले बालबच्चाले किनेर यस्तै सिको गर्छन् भन्नेमा चिन्ता पनि व्यक्त गरेका छन् । उनीहरुले नाबालिगहरूले उक्त उपकरण किन्न र प्रयोग गर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। प्रयोगकर्ताहरूले उक्त उपकरण प्रयोग गर्नका लागि मोबाइल एप डाउनलोड गरेर फोनको चार्जिङ पोर्टमा यन्त्र प्लग गर्नुपर्छ। एपमा पार्टनरसँग जोडिएपछि भिडियो कलमार्फत चुम्बन गर्न सक्छन् ।

 

उक्त उपकरणका आविष्कारक हुन्, जियाङ झोङ्गली । उनले आफ्नी प्रेमिकासँग लामो दूरीको सम्बन्धमा रहेको र फोन मार्फत मात्रै सम्पर्कमा रहन सक्ने भएपछि त्यसको उपाय खोजी गरे । त्यसपछि उनले त्यहीँबाट नयाँ उपाय निकाले– ‘किसिङ डिभाइस’ । यस उपकरणको मूल्य २८८ युआन पर्ने भनिएको छ ।एजेन्सी