२०८० चैत्र १५ , बिहिवार

‘लघुवित्तले १५ प्रतिशतभन्दा बढी ब्याज लिए राष्ट्र बैंकमा उजुरी गर्नुस्’

Nepal Rasta Bank- NRB

सुनाखरी न्युज/ काठमाडौं । लघुवित्त वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा ऋणीबाट १५ प्रतिशतभन्दा ब्याजदर असुली गरे आफूसमक्ष उजुरी गर्न राष्ट्र बैंकले सर्वसाधारणलाई आग्रह गरेको छ ।

राष्ट्र बैंकले चेतनामूलक सन्देश जारी गर्दै लघुवित्त वित्तीय संस्थाका लागि १५ प्रतिशत अधिकम ब्याजदर तोकिएकाले त्योभन्दा बढी कर्जा असुली गरेको अवस्थामा सिधै आफूसमक्ष उजुरी गर्न भनेको हो ।‘लघुवित्त वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर १५ प्रतिशतभन्दा बढी नहुने व्यवस्था गरिएको छ । हाल कुनै पनि लघुवित्त वित्तीय संस्थाको ब्याजदर १५ प्रतिशतभन्दा बढी छैन,’ राष्ट्र बैंकद्वारा जारी सूचनामा भनिएको छ, ‘लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत भन्दा बढी ब्याज लिएको भए नेपाल राष्ट्र बैंकमा रहेको वित्तीय ग्राहक संरक्षण इकाइमा गुनासो दर्ता गर्न सक्नुहुनेछ ।’

 

वित्तीय चेतनाका लागि भन्दै राष्ट्र बैंकले मंगलबार जारी गरेको सूचनामा भनिएको छ, ‘वाणिज्य बैंकलाई ‘क’ वर्गको बैंक भनिन्छ । विकास बैंकलाई ‘ख’ वर्गका वित्तीय संस्था र फाइनान्स कम्पनीलाई ‘ग’ वर्गका वित्तीय संस्था भनिन्छ । यसैगरी लघुवित्त वित्तीय संस्थालाई ‘घ’ वर्गका वित्तीय संस्था भनिन्छ । यी सबै संस्थाहरु राष्ट्र बैंकबाट लाइसेन्स प्राप्त वित्तीय संस्था हुन् ।’राष्ट्र बैंकको निर्देशन अनुसार लघुवित्त वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा अधिकतम १५ प्रतिशत ब्याजदर र १.५ प्रतिशत सेवा शुल्क लिन पाइने व्यवस्था छ । तर, लघुवित्त वित्तीय संस्थाले घुमाउरो पाराले तोकेकोभन्दा बढी ब्याजदर र सेवा शुल्क असुली गरिरहेका छन् । यही कारण राष्ट्र बैंकले चेतनामूलक सन्देश जारी गरेको हो ।

May be an image of text