२०८१ बैशाख ६ , बिहिवार

पीएनजीमाथि नेपालको सहज जित

सुनाखरी न्युज/ काठमाडौं । नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा लगातार ५ विजयको कीर्तिमान बनाएको छ । नेपालले यूएईमा क्रिकेट विश्वकप लिग-२ अन्तर्गत सोमबार पपुवा न्यु गिनीविरुद्ध ४ विकेटको विजय हात पार्दै पहिलो पटक लगातार ५ खेल जितेको हो ।

 

टस हारेपछि ब्याटिङमा आएको पपुवा न्यु गिनीले दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा निर्धारित ५० ओभरमा ९ विकेट गुमाई २ सय ३ रन बनाएको थियो । ओपनर कुशल भुर्तेलको अर्धशतकबाट प्रेरित नेपालले ४५.२ ओभरमा २०७ रन बनाउँदै विजयी लक्ष्य पूरा गर्‍यो । अघिल्लो साता नेपालले घरेलु मैदानमा लिग-२ को नामिबिया र च्याम्पियन स्कटल्यान्डविरुद्धको २–२ खेल गरी सबै ४ खेल जित्दै क्लिन स्विप गरेको थियो । नेपालले २०२० को फेब्रुअरीदेखि २०२१ को सेप्टेम्बरसम्ममा गरी एकदिवसीय अन्तर्राष्ट्रियमा लगातार चार खेल जितेको थियो ।

 

कुशलले ५६ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रियमा यो उनको चौथो अर्धशतक हो । ६९ बलको इनिङ्समा उनले ५ चौका प्रहार गरे । कुशल र आसिफ शेखले पहिलो विकेटमा १५ ओभर भित्र ७६ रनको ठोस साझेदारी गरी नेपालको विजयको आधार बनाए । आसिफले ३९ बल खेल्दै ५ चौकासहित ४४ रन बनाए । आसिफ रनआउट भए । आफ्नै कलमा रन लिन दौडिए पनि नन स्ट्राइकमा रहेका कुशलले याद नगरेपछि आसिफ रनआउट भए । ज्ञानेन्द्र मल्ल ४ रन बनाई इनसाइड एज लागेर नोर्मन भानुआको बलमा बोल्ड भए । कप्तान रोहित पौडेलले ३४ बलमा १४ रन बनाए ।