२०८१ बैशाख ८ , शनिवार

नर्भिकको विश्वस्तरीय सेवाको जर्मन पर्वतारोहीद्वारा प्रशंसा, मिडियामा छाइन

सुनाखरी न्युज/ काठमाडौं । केही महिनाअघि नेपालका हिमालहरुको आरोहण गर्ने क्रममा अचेत भएकी एक जर्मन पर्वतारोही मार्टिना कुसले थापाथलीस्थित नर्भिक अस्पतालको उपचार सेवाको प्रशंसा गरेकी छिन् । नर्भिकको विश्वस्तरीय उपचार सेवाका कारण मृत्युको मुखबाट फिर्ता हुन सफल उनले स्वदेश फर्किएपछि त्यहाँको एउटा सञ्चारमाध्यममा आफ्नो अनुभव साट्दै नर्भिकको उपचार पद्धतिको मुक्तकण्ठले प्रशंसा गरेकी हुन् ।

 

सन् २०२२ नोभेम्बरमा मार्टिना कुस नेपालको तेश्रो पटकको भ्रमणमा आएकी थिइन् । यो पटकको उनको उद्देश्य थियो सगरमाथा आरोहणको । तर, ४००० मिटरको उचाईबाट अगाडि बढ्दै गर्दा उनलाई लेक लाग्यो । स्वास्थ्यमा अनपेक्षितका समस्या एकाएक देखिए । लुक्लाबाट अगाडि बढेको केही दिनपछि उनलाई गम्भीर स्वास्थ्य समस्या देखिएको थियो । मार्टिनाका अनुसार उनलाई पल्मोनरी एम्बोलिज्मको समस्या देखिएको थियो ।

 

उनले यसअघि पनि नेपालमा हिमालहरुको आरोहण गरिसकेको थिइन् । यसपटक सजिलै हिमाल चढ्ने उच्च आत्मविश्वाससहित आएकी मार्टिनालाई स्वास्थ्यले साथ दिएन । उनलाई हिमाली क्षेत्रबाट हेलिकोप्टरमार्फत उद्धार गरी काठमाण्डौकै एउटा निजी अस्पतालमा उपचार गरिएको थियो । मार्टिनाले लेखेअनुसार त्यहाँ उनको स्वास्थ्य अवस्था झनै बिग्रियो । त्यसपछि चिकित्सक र टूर गाइडको सल्लाहअनुसार थापाथलीस्थित नर्भिक अस्पताल पुर्याइएको थियो ।

 

‘काठमाण्डौको त्यो सानो अस्पतालमा उपचार गरियो, तर, म लगातार कमजोर हुँदै गएँ, मेरो स्वास्थ्य अवस्था झनै गम्भीर बन्दै गयो । मलाई थप र थप पूरक अक्सिजन चाहिने भइसकेको थियो । सीटी स्क्यानले पल्मोनरी एम्बोलिज्मको समस्या रहेको पत्ता लगायो। डाक्टरहरूले मेरो फोक्सोमा पानी र रगत भेट्टाए। एम्बोलिज्म हुँदा रगत जम्छ र यदि त्यो रक्तनलीमा अड्कियो भने मृत्यु हुन सक्छ। निमोनिया पनि भयो ।’ उनले स्मरण गर्दै भनेकी छिन्–‘त्यो सानो अस्पतालले मलाई थप उपचारको लागि काठमाडौंको ठूलो नर्भिक अस्पतालमा सा¥यो। केही दिनपछि औषधि आयो र ज्वरो कम भयो । खान र पिउन मुश्किलले सक्ने भएँ ।’

 

उनले नर्भिकको उपचार–पद्दति, चिकित्सक तथा नर्सहरुको आत्मीय व्यवहार ‘अविश्वसनीय’ रहेको भनेकी छिन् । ‘नर्भिकका डाक्टरहरुद्वारा गरिएको चिकित्सा उपचार अविश्वसनीय थियो र नर्सिङ स्टाफको सहानुभूति र हेरचाह महान थियो। मेरो हेरचाह गर्न, मलाई सान्त्वना दिन र मलाई अँगालो हाल्न एक नर्स लगभग चौबीसै घण्टा त्यहाँ तैनाथ हुन्थिन् ।’ उनले भनेकी छिन्–‘बिरामी भएर बेडमा लडिरहँदा निराश थिएँ । तर, नर्भिकका डाक्टर र नर्सको मीठो व्यवहारले मेरो दिमागमा सकारात्मक सोंचको विकास हुन थाल्यो । आफ्नै घरमा बसेर उपचार गरिरहेको जस्तो लाग्न थाल्यो । अर्को शब्दमा भन्दा नर्भिकका डाक्टर र नर्स मेरा लागि भगवान बने ।’

 

उनी नर्भिक अस्पतालमा ४५ दिनसम्म बसेकी थिइन् । सो अवधिमा पूर्ण रुपमा ठीक भएपछि उनी जर्मनीका लागि उडेकी थिइन् । उनलाई लिन नेपालमा उनका भाई आएका थिए । हाल घरमै थप स्वास्थ्य लाभ गरिरहेकी मार्टिनाले फेरि पनि आफूलाई नेपाल भ्रमणमा जाने उत्कट इच्छा रहेको समेत सो क्रममा बताएकी छिन् । ‘मसँग नेपाल र यात्राको सकारात्मक सम्झनाहरू छन्। म त्यहाँ चौथोपटक पक्कै जान्छु। मलाई अग्लो हिमाल चढ्नु पर्दैन ।’ उनले लेखेकी छिन्–‘नेपालमा हिमालयको बीचमा सजिलो पदयात्रा, सांस्कृतिक अनुभव वा विश्रामका लागि प्रभावशाली क्षेत्रहरू पनि छन्।’