२०८१ बैशाख १२ , बुधवार

नेपाल यू–१९ को लगातार तेस्रो जित, हङकङ ९ विकेटले पराजित

सुनाखरी न्युज/ काठमाडौं ।
नेपालले आईसीसी यू–१९ एसिया विश्वकप छनोटमा लगातार तेस्रो विजय हात पारेको छ । आकाश त्रिपाठीले अर्धशतक बनाएपछि नेपालले सोमबार हङकङलाई ९ विकेटले पराजित गर्‍यो ।

 

 

प्रतियोगितामा नेपालको यो लगातार तेस्रो जित हो । नेपालले पहिलो खेलमा सिंगापुरलाई ८६ र दोस्रो खेलमा कुवेतलाई २ सय ४३ रनले पराजित गरेको थियो । ६ राष्ट्र सम्मिलित यस प्रतियोगिताको विजेता टोली अर्को वर्ष श्रीलंकामा हुने आईसीसी यू–१९ विश्वकपमा पुग्ने छ । मलेसिया र यूएईविरुद्धको अगामी दुई खेल जितेमा नेपाल राउन्ड रोबिनमा भएको प्रतियोगिता जित्ने छ ।

 

यूएईको अजमानमा भइरहेको प्रतियोगितामा टस जितेर ब्याटिङ गर्न आएको हङकङ ४६. ओभरमा १ सय २० रनमै अलआउट भएपछि जबाफमा आएको नेपालले आकाशको अविजित ६४ रनमा १ सय २६ रन बनाउँदै २२.१ ओभर भित्रै लक्ष्य पूरा गर्‍यो ।