२०८१ बैशाख ८ , शनिवार

सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सको एकिकृत कारोबार फागुन १७ देखि

सुनाखरी न्युज/ काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेड र प्रिमियर इन्स्योरेन्स लिमिटेडले मर्जर प्रक्रिया पुरा गरी फागुन १७ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएका छन् । गत असार २७ गते मर्जर सम्बन्धि प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेका यी कम्पनीले करिब ८ महिनामा मर्जर प्रक्रिया सम्पन्न गर्न लागेका हुन ।

 

दुबै कम्पनीले मर्जर सम्बन्धि विशेष प्रस्ताव पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेका थिए । नेपाल बीमा प्राधिकरणबाट माघ १६ गते, नेपाल धितोपत्र बोर्डबाट माघ २४ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट फागुन ८ गते मर्जरका लागि स्वीकृति प्राप्त भएसँगै यी दुई कम्पनी एक हुन लागेका हुन । मर्जरपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु गर्न लागिएको हो ।

 

यो कम्पनीको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा रहनेछ । यी दुई कम्पनी एक बराबर एक शेयर आदानप्रदान गर्दै मर्जरमा जान लागेका हुन । एकिकृत कारोबार सुरु भएको दिनदेखि दुबै कम्पनीको शेयर कारोबार रोक्का हुनेछ । पछिल्लो व्यवस्था अनुसार मर्जर प्रक्रिया पुरा गरी एकिकृत कारोबार सुरु गरेको दिनदेखि बढीमा १५ कारोबार दिन शेयर कारोबार रोक्का गर्नुपर्ने हुन्छ ।