२०८१ बैशाख ७ , शुक्रवार

अपि पावरको साधारण सभाबाट लाभांश र हकप्रद पारित

सुनाखरी न्युज/ काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको १९ औँ वार्षिक साधारण सभा फागुन १४ गते बानेश्वर ब्याङ्क्वेट, थापागाँउ,काठमाडौँमा सञ्चालन गरिएको थियो ।

 

सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३९ प्रतिशत नगद लाभांश गरी कुल ७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएको छ ।यसका साथै, सभाले ७.५ प्रतिशत बोनस सेयर वितरण गरेपश्चात् कायम हुने चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद निष्कासनको प्रस्ताव समेत पारित गरेको छ । कम्पनीले हकप्रद निष्काशनका लागि नियामक निकाय बिद्युत नियमन आयागबाट पुर्वस्विकृत प्राप्त गरिसकेको छ ।

 

त्यसैगरी, सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन उपर छलफल गरी पारित गरिएको छ । सभामा लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तसम्मको वासलात तथा आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितका अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण समितिको सिफारिस बमोजिम बाह्य लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा सुविधाको निर्धारण गर्ने प्रस्ताव पनि पारित गरिएको छ ।