२०८१ बैशाख १३ , बिहिवार

पाँच वर्षपछि पुनः प्रयोगमा ल्याइँदै वायोग्यास प्लान्ट

सुनाखरी न्युज / काठमाडौँ – फागुन १४ गते । काठमाडौँ महानगरपालिकाले पाँच वर्षदेखि बन्द रहेको वायोग्यास प्लान्ट पुनः सञ्चालन गर्ने भएको छ । फोहरबाट ऊर्जा उत्पादन गर्ने लक्ष्यसहित युरोपियन युनियन र कामपाको आर्थिक लगानीमा टेकुस्थित वातावरण विभागको परिसरमा जडान गरिएको वायोग्यास प्लान्ट मर्मत गरी पुनः प्रयोगमा ल्याउन लागिएको कामपाले जनाएको छ ।

 

कामपा वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठका अनुसार कुहिने फोहरबाट बिजुली र ग्यास उत्पादन गरी नवीकरणीय ऊर्जा उत्पादन गर्ने तथा कुहिने फोहरको दिगो व्यवस्थापनका लागि यो परियोजना पुनः सञ्चालन गर्ने तयारी गरिएको हो । यसका लागि कामपाले राष्ट्रिय आविष्कार केन्द्रसँग छलफल गरिरहेको छ । “छलफल सकारात्मक भएकाले आगामी हप्तादेखि उक्त परियोजना पुनः सञ्चालनमा ल्याउने तयारीमा छौँ”, उहाँले भन्नुभयो ।

 

उक्त परियोजना लागि युरोपियन युनियनले रु चार करोड ६० लाख र कामपाले रु एक करोड ८२ लाख लगानी गरेका थिए । एकीकृत फोहरमैला व्यवस्थापन परियोजनाअन्तर्गत सञ्चालित यस परियोजनाका लागि दैनिक तीन मेट्रिकटन जैविक फोहर आवश्यक पर्छ । उक्त परियोजनामा तीन हजार किलो जैविक मल उत्पादन हुनाको साथै १४ किलोवाट बिजुली र १३ हजार पाँचसय लिटर प्रशोधित पानी उत्पादन गर्ने क्षमता छ । वि।सं २०७०देखि परीक्षणका रूपमा उक्त परियोजना सञ्चालन गरिएकामा २०७४ सालदेखि आधिकारिक रूपमा सञ्चालन गरिएको थियो ।

 

लामोसमयदेखि वायोग्यास प्लान्ट बन्द हुँदा वायोग्यास उत्पादनमा समस्या हुनाका साथै वायो ऊर्जासम्बन्धी नेपालमा अध्ययन तथा विद्यावारिधि गर्ने विद्यार्थीलाई समस्या भएकाले पुनः जडान गर्न लागिएको बताइएको छ । सञ्चालनका लागि दक्षजनशक्ति अभावका कारण पाँच वर्षदेखि प्रयोगविहीन हुँदै आएको उक्त प्लान्ट पुनः सञ्चालनमा आएसँगै कामपालाई कुहिने फोहर व्यवस्थापनमा सहयोग पुग्ने विश्वास लिइएको छ । रासस